दमकबाट लुटिएका हतियार र गोली बरामद
जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका दुईवटा हतियार र गोली भेटिएको छ । पाँचथरको मिक्लाजुङ ३ आरुबोटे भन्ने स्थानबाट म्यागेजिनसहितको .३०३ मार्क ३ राइफल एक थान , म्यागेजिन नभएको बट र ह्याण्ड ग्रिप जलेको अवस्थामा एक थान इन्सास ,इन्सासको जंगी राउण्ड एक थान र एसएलआरको जंगी राउण्ड तीन थान गोली भेटिएको हो ।
इलाका प्रहरी कार्यालय दमकमा तोडफोड ,आगजनी र प्रहरीको हातहतियार लुटपाट गरेर फरार रहेका पाँचथर मिक्लाजुङ-३ बस्ने २२ वर्षीय सुशील फियाक (लिम्बू) लाई हिजो दिउँसो १ः३० बजे दमक -६ बाट पक्राउ गरिएको थियो । लिम्बूलाई सोधपुछ गर्दा उनले लुटेका हतियारहरू मिक्लाजुङ-३ आरुबोटे लामागाउँस्थित ओडारमा लुकाई राखेको बताएका थिए । त्यसपश्चात् जिल्ला प्रहरी कार्यालय पाँचथरसँग समन्वय गरी दमकका प्रहरी निरीक्षक नवीन राईको कमान्डमा प्रहरी टोली खटिएर ती हतियार बरामद गरेको हो ।
हातहतियार तथा गोलीगठ्ठाहरु बरामद गरी लिम्बूलाई हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडी बढाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुईवटा हतियार भेटिएसँगै झापामा प्रहरी कार्यालयबाट लुटिएका अझै २० थान हतियार भेटिन बाँकी रहेको छ ।