२०८३ बैशाख २४ गते , विहीबार
झापामा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका चालकको मृत्यु
झापाको बुद्धशान्तिमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका- ४ निवासी २६ वर्षीय अभिषेक नेवार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार कार्तिक २९ गते राति साढे ९ बजेको समयमा बुद्धशान्ति-४ मंगलबारेस्थित भित्री सडक खण्डमा भञ्जयाङबाट मङ्गलवारेतर्फ जाँदै गरेको मे १० प ११०४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा परी घाइते मोटरसाइकल चालक नेवारलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा लगिएको थियो । कार्तिक ३० गते राति ९ बजेको समयमा घाइते भएका उनलाई आफन्तले घर लिई गएकोमा आज बिहान साढे ६ बजे उनको घरमै मृत्यु भएको हो । घटनाको बारेमा इलाका प्रहरी कार्यालय धुलाबारीले अनुसन्धान गरिरहेको छ ।