झापा कारागारको ढल निकासका लागि सडकमा राखिएको ह्युम पाइपमा भ्वाङ, बढ्यो दुर्घटनाको जोखिम
भद्रपुर । कारागारको ढल निकासका लागि सडकमा राखिएको ह्युम पाइप भत्किदा दुर्घटनाको जोखिम बढेको छ । भद्रपुर-९ स्थित झापा कारागार पूर्वतर्फको प्रज्ञा स्कूल जाने सडकमा राखिएको ह्युम पाइप तीन ठाउँमा भ्वाङ पर्दा दुर्घटनाको जोखिम बढेको हो । स्थानीय भन्छन्-ह्युम पाइपमा ठूलठूला भ्वाङ परेको धेरै भयो । यसको मर्मत सम्भारको लागि अहिलेसम्म वडा कार्यालय र भद्रपुर नगरपालिकाले चासो देखाएको छैन । यहाँ धेरै मान्छे लडिसकेको उनीहरूको गुनासो छ ।
सडकमा राखिएको सो ह्युम पाइप कारागारबाट निस्किने ढल निकासाका लागि बिचै बाटोमा राखिएको छ । वर्षौँदेखि कारागारबाट निस्किने दूषित ढलको व्यवस्थापन अझै भएको छैन । कारागारको ढलले स्थानीयको निजी जमिन ढाकिसकेको छ ।
त्यहाँबाट हिडदा नाक-मुख नछोप्नुको विकल्प नै छैन । मानिसलाई समेत हिडन समस्या भइरहेको अवस्थामा त्यहाँ बसोबास गर्ने स्थानीयको अवस्था चाहिँ कस्तो होला ? सङ्घीय सरकारले कारागारको ढल निकासको लागि यसै वर्ष ३ करोड बजेट छुट्टाएको छ । तर, निर्माण प्रक्रिया भने अघि नबढेको बुझिएको छ ।