झापाको धाइजनमा ट्रक र सुमो ठोक्किँदा पाँच जना घाइते
मेची राजमार्गमा ट्रक र सुमो ठोक्किँदा पाँच जना घाइते भएका छन् । झापा बुद्धशान्ति –३ माथिल्लो धाइजनमा गएराति ८.३० बजे बुधबारेबाट चारआलीतर्फ आउँदै गरेको डब्लुबी ७६६७५२ न.को भारतीय सुमो र विपरीत दिशाबाट जाँदै गरेको मे.१ख.३३६७ न. ट्रक एकापसमा ठक्कर खाएका हुन् ।
दुर्घटनामा सुमो चालक भारत दार्जिलिङ बस्ने वर्ष ४६ का बिसन साशंकर,सुमोमा सवार यात्रुहरू भारत नक्सलबारी बस्ने वर्ष४३ का शेखर गहतराज, दार्जिलिङ बस्ने वर्ष ३७ का एसदिप साशंकर , झापा बुद्धशान्ति –३ बस्ने वर्ष ३७ का घनश्याम बि.क. र सडकमा हिँड्दै गरेका पैदल यात्री बुद्धशान्ति –३ बस्ने वर्ष ६५का हिरालाल चौधरी घाइते भएका छन् । पैदल यात्री चौधरीलाई ट्रकले ठक्कर दिएको हो ।
पाँचै जना घाइतेहरूलाई उपचारका लागि भागिरथा न्यौपाने अस्पताल बुधबारे लगिएको थियो । बिसन साशंकर,शेखर गहतराज,एसदिप साशंकर,घनश्याम बिकलाई थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको छ । पैदल यात्री चौधरीलाई बचाउन खोज्दा ट्रक सुमोसँग ठोक्किएको बताइएको छ । ट्रक चालक ताप्लेजुङ मैवाखोला –६बस्ने वर्ष २४ का ज्ञानेद्र लिम्बूलाई इलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएको छ ।