२०८२ मंसीर १२ गते , शुक्रबार

हल्दीबारीको भुसुडी खोला : काठे पुलको ठाउँमा बनेको पक्की पुल आयो सञ्चालनमा

sajilo news
पार्थ मण्डल
२०८२ कार्तिक २६ गते , बुधबार
हल्दीबारीको भुसुडी खोला : काठे पुलको ठाउँमा बनेको पक्की पुल आयो सञ्चालनमा

झापा । काठे पुल विस्थापित गर्ने अभियान अन्तरगत झापाको हल्दीबारी गाउँपालिकाले थप एउटा पक्की पुल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले आफ्नो आन्तरिक स्रोतबाट निर्माण गरेको हल्दीबारी–३ स्थित रणकाली सामुदायिक वन जोड्ने भुसुडी खोलाको पक्की पुलको बुधवार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । सो पुलको गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङदेन र उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले संयुक्त रूपमा उद्घाटन गर्दै सञ्चालनमा ल्याएका हुन् । 

गाउँपालिकाले तीन वटा काठे पुल विस्थापित गर्दै तीन वटा पक्की पुल बनाउन एउटै ठेक्का आव्हान गरेको थियो । संघीय र प्रदेश सरकारको बजेट बिना गाउँपालिकाले वित्तीय समानीकरणबाट भुसुडी खोलामा दुई वटा र भुतेनी खोलामा एउटा गरी तीन वटा पुल एकमुष्ट ४ करोड ६७ लाख ५४ हजार ८ सय ८७ रुपैयाँमा ठेक्का लगाएको थियो । २०७९ साल मंसिर ७ गते सारा सृष्टि निर्माण सेवा प्रालिसँग ठेक्का सम्झौता गरेकोमा यो र भुतेनीसहित दुईवटा पुल सञ्चालनमा आइसकेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत त मानबहादुर वन (महेन्द्र)ले जानकारी दिए । एक करोड ३० लाख लागतमा बनेको यो भुसुडी पुलको लम्बाई २६.८ मिटर र चौडाइ साढे ५ मिटर चौडाइ रहेको छ । अब भुसुडी खोलाको अर्को पुल एक महिनाभित्रै सञ्चालनमा ल्याउने उनको भनाई छ । 

गाउँपालिकाले फजुल खर्च कटौती गर्दै विकास निर्माणको कामलाई तीव्रता दिएको बताउँदै उनले भने, ‘गाउँपालिकाभरि ४४ किलोमिटर कालोपत्रे सडक बनिसकेको छ, काठे पुल भएका स्थानहरूमा कतै पक्की पुल त कतै कल्भर्ट बनाएका छौँ ।’  जलथल जंगलको पर्यटकीय मार्गमा बनेको यो पुलले यस क्षेत्रका स्थानीय लाभान्वित बनेको गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङदेनले बताए । साबिक जलथल गाविस रहेको यो क्षेत्र अत्यन्तै विकट र पछि परेको ठाउँ हो । गाउँपालिकाको सीमित बजेट र स्रोतका बाबजुद आफ्नै आन्तरिक बजेटबाट यो पुल बनाउन सफल भएको अध्यक्ष लिङदेनले बताए । यहाँ पुल बनाइयो अब छिट्टै सडक पनि बनाउने उनको भनाई छ । 

 

 

सम्बन्धित समाचार