२०८३ बैशाख २४ गते , विहीबार

झापामा एकैदिन १२ स्थानमा दुर्घटना : एकको मृत्यु, १७ जना घाइते

sajilo news
झापा
२०८२ कार्तिक २६ गते , बुधबार
झापामा एकैदिन १२ स्थानमा दुर्घटना : एकको मृत्यु, १७ जना घाइते

अत्यधिक सवारी दुर्घटना हुने क्रममा झापामा हिजो एकैदिन १२ वटा दुर्घटना भएको छ । जसमा एकजनाको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन् ।

हिजो बिहान १० बजे झापा गाउँपालिका वडा न.६ शरणामतीमा वडा नं .७ बस्ने ४५ वर्षीय सुनिल सोरेनले मे १ त ३३१६ न.को ट्याक्टर आफ्नै साहुको घरबाट निकाल्ने क्रममा अचानक लडेर दुर्घटना भएको थियो । घाइते सोरेनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएकोमा उपचार क्रममा दिउँसो ३ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै हिजो बिहान ९ बजे कमल वडा न.५ पाडाजँुगीस्थित पूर्वपश्चिम लोकमार्गमा दमकबाट झिलझिलेतर्फ आउँदै गरेको अनटेस्ट अटो आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा चालक मोरङ मिक्लाजुङ ६ बस्ने वर्ष ४७ का चन्द्रबहादुर राई,अटोमा सवार सोही ठाउँ बस्ने वर्ष ५० की शान्ति लिम्बू,वर्ष १७ की सजिना तामाङ, वर्ष २२ की मनीषा लिम्बू , मिक्लाजुङ.४ बस्ने वर्ष ६० का इन्द्रप्रसाद खतिवडा रहेका छन् । उनीहरूको निम्स अस्पताल दमकमा उपचार भइरहेको छ ।

त्यस्तै हिजो दिउँसो २ बजे मेचीनगर वडा न.४ माताचोकस्थित काँकडभिट्टा– बाहुनडाँगी सडक खण्डमा काँकडभिट्टाबाट बाहुनडाँगीतर्फ जाँदै गरेको प्र.१–०१–०१३ प २६८५न.को मोटरसाइकलले साइकल यात्री मेचीनगर ४ बस्ने वर्ष४२ का रोहितकुमार राईलाई ठक्कर दिई घाइते बनाएको छ । त्यस्तै मोटरसाइकल चालक मेचीनगर वडा न.१ बस्ने वर्ष २३ का फुर्वा तामाङ पनि घाइते भएका छन् । दुवै घाइतेहरूको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

त्यस्तै हिजो दिउँसो ३ः४५बजे गौरादह ८ जुरोपानी चोकस्थित गौरीगंज– गौरादह भित्री सडक खण्डमा गौरादहबाट गौरीगंजतर्फ जाँदै गरेको गौ.न.पा. ई२०३नम्बरको सिटी सफारी आफै अनियन्त्रित भई पल्टिएको छ । दुर्घटनामा सिटी सफारीमा सवार गौरादह ४बस्ने वर्ष अन्दाजी ६०का दयाराम भट्टराई घाइते भएका छन् । उनलाई उपचारको लागि निम्स अस्पताल दमक लगिएको छ । सिटी सफारी र चालक गौरादह ८बस्ने वर्ष४१ का पदम ढकाललाई इलाका प्रहरी कार्यालय गौरादहले नियन्त्रणमा लिएको छ ।

त्यस्तै हिजो बिहान शिवसताक्षीमा थेसर पल्टिएर एक जना घाइते भएका छन् । घाइते हुनेमा शिवसताक्षी–१०बस्ने वर्ष–४३ का भगिमान पौडेल रहेका छन् । बिहान ९ः३० बजे पौडेलले सोही ठाउँ बस्ने हरिकृष्ण मैनालीको प्र.१–०१–००२त८७३०नंको थेसर ट्याक्टर बोलाई आफ्नै बारीको धान थेसर लगाउन लाने क्रममा अचानक थेसर पल्टिई पौडेललाई थिचेको थियो । उनको बायाँपट्टिको कमरको भाग नचलेकोले उपचारको लागि अर्थोकेयर एन्ड ट्रमा सेन्टर दमकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको छ ।

त्यस्तै कात्तिक २२ गते बिहान ११ः३०बजे बिर्तामोड ५ सगरमाथा चोकस्थित भित्री सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा १६च ३२६९नं को कार र उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र१–०१–०१३ प ३३० ३ नं.को मोटरसाइकल एकआपसमा ठक्कर खाएर दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा ८बस्ने वर्ष ४७का यदुनाथ पोख्रेल घाइते भएका थिए । दुवै पक्षको सहमतिमा स्थानीय मेडिकलमा उपचारपश्चात् घर गएकोमा बिर्तासिटी अस्पतालमा दुवै पक्ष आई चेक गराउँदा टाउकोमा रगत जमेकोले सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै हिजो साँझ ७ः३० बजे कनकाई १ जुके कल्भर्टस्थित पूर्वपश्चिम लोकमार्गमा बिर्तामोडबाट सुरुङगातर्फ जाँदै गरेको प्र.१–०१–०१७प ८२५१ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई डाइभर्सनमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड ३ बस्ने २७ वर्षीय टेकनाथ कडरिया घाइते भएका छन् । उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

त्यस्तै गएराति ८ बजे बुद्धशान्ति –२ प्रणामी मन्दिरस्थित भित्री सडक खण्डमा बुधबारेबाट जयपुरतर्फ जाँदै गरेको मे.१ ह.४३१२ न.को अटो आफै अनियन्त्रित भई दुर्घटना भएको छ । दुर्घटनामा अटो चालक सोही ठाउँ बस्ने वर्ष ४० का धनबहादुर विश्वकर्मा र अटोमा सवार वर्ष २५ की यशोदा रसाइली घाइते भएका छन् । दुवैको बुधवारेमा उपचार भइरहेको छ ।

त्यस्तै राति १० बजे कमल वडा न.५ पाडाजुँगी चोकस्थित पूर्वपश्चिम लोकमार्गमा दमकबाट पाडाजुँगीतर्फ आउँदै गरेको प्र.१–०१–०१६प८४५७ न. को मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको प्र.१–०१–०१६प६७७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको छ । दुर्घटनामा ८४५७ नम्बरको मोटरसाइकल चालक इलाम चुलाचुली वडा न.५बस्ने वर्ष३७ का चन्द्रकुमार राईलाई केही नभएको, सोही मोटरसाइकलमा पछाडि सवार वर्ष४५ की चन्द्रकला राई घाइते भएकी छन् । उनको निम्स अस्पताल दमकमा उपचार भइरहेको छ । फरार रहेको ६७७ नम्बरको मोटरसाइकल चालक गौरादह४बस्ने वर्ष ३५का सन्जोगदास दर्जी र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै हिजो साँझ ६ः३०बजे कनकाई वडा न. १जामुनखाँडी बस्ने सुजित लामिछानेका छोरा वर्ष ६का सुविगय लामिछाने आफ्नै घरअगाडि साइकल चलाउने क्रममा साइकलबाट लडेर घाइते भएका छन् । उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको छ ।

त्यस्तै राति १२.१५ बजे बिर्तामोड ५मनमोहन अस्पताल अगाडी पूर्वपश्चिम लोकमार्गमा चारपानेबाट चारआलीतर्फ जाँदै गरेको प्र.१–०१–०१८प२४६९न.को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–००१ज४०९५न.को इभी भ्यान एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक इलाम माई ५बस्ने वर्ष२५का धर्म मगर घाइते भएका छन् । भ्यान चालक पाँचथर हिलिहाङ १बस्ने वर्ष ३१का सञ्जीव राईले मनमोहन अस्पतालमा लगी घाइतेको उपचार गराइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै राति १ः३०बजे दमक ६गणतन्त्र चोकस्थित पूर्वपश्चिम लोकमार्गमा पाडाजुँगीबाट दमकतर्फ जाँदै गरेको लु७०प३०२७न. को. मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक दमक १ कुमाल चोक बस्ने वर्ष ३५का लोकेन्द्र चेम्जोङ गम्भीर घाइते भएका छन् । टाउकोको दाहिने कन्चटमा चोट र नाक, कान, मुखबाट रगत बगिरहेको अवस्थामा प्रहरी टोलीले घाइतेलाई उद्धार निम्स अस्पताल दमक पठाएको थियो । त्यहाँ सामान्य उपचारपश्चात् थप उपचारको लागि न्युरो अस्पताल विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार