मतदाता नामावली दर्तामा चाप बढ्यो, कर्मचारीलाई दुई सिफ्टमा खटाइने
निर्वाचन आयोगले सेवाग्राहीको चाप बढेसँगै मतदाता नामावली दर्ताका लागि कर्मचारीलाई दुई सिफ्टमा खटाउने निर्णय गरेको छ।
नाम दर्ता स्थलहरूमा देखिएको सेवाग्राहीको अधिक चापलाई व्यवस्थापन गर्न र सहज रूपमा सेवा प्रवाह गर्नका लागि दैनिक ८ सयभन्दा बढी नाम दर्ता भइरहेका जिल्लाहरूमा ६/६ घण्टाका दरले दुई सिफ्टमा सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।
यसका लागि काठमाडौं उपत्यका भित्रका तीन जिल्लाको हकमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट थप १४ जना दर्ता कर्मचारी खटाई सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले सेवाग्राहीको चापका आधारमा थप जनशक्ति खटाउने गरी गृह मन्त्रालयमा पत्राचार गरिएको सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए। आयोगले २०८२ फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकलाई मात्र नाम दर्ता गराउन आग्रह गरेको छ।