ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु
सर्लाहीको कविलासी नगरपालिका- ६, मदनपुर बजार नजिक ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते भएका छन्।
बिहीबार साँझ सलेमपुर–मदनपुर–बरहथवा सडकअन्तर्गत मदनपुर बजारदेखि ५०० मिटर पूर्व सलेमपुरबाट बरहथवातर्फ जाँदै गरेको ज १ त ६२०३ नम्बरको ट्याक्टरमा सोही दिशातर्फ जाँदै गरेको बा ४७ प ९८९२ नम्बरको मोटरसाइकल ठोक्किएको हो।
दुर्घटनामा मोटरसाइकल चालक चन्द्रनगर गाउँपालिका- ५, मोहनपुरका ४२ वर्षीय सुरेन्द्र ठाकुर लोहारको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते बरहथवा नगरपालिका- ७, बस्ने १९ वर्षीय राजु ठाकुर लोहारलाई प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचारपश्चात बिहीबार राति नै राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँ ल्याइएको छ।
ठाकुर मोटरसाइकलको पछाडि सवार थिए। दुर्घटनापछि ट्याक्टरलाई इलाका प्रहरी कार्यालय हरिपुरमा ल्याएर राखिएको छ। चालक फरार छन्।