बसले अटोरिक्सालाई ठक्कर दिँदा चार जनाको मृत्यु
धनुषामा यात्रुवाहक बसले अटोरिक्सालाई ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ। धनुषाको उत्तरी क्षेत्र पश्चिम राजमार्ग अन्तर्गत वीरेन्द्र बजारमा यात्रुबाहक बसले अटोरिक्सालाई ठक्कर दिँदा एक महिलासहित चार जनाको मृत्यु भएको हो। अन्य दुईजना गम्भीर घाइते भएका हुन्।
मृत्यु हुनेहरुमा गणेशमान चारनाथ नगरपालिका-१ भरतपुरका अन्दाजी ४० वर्षीय रिक्साचालक डम्बर राई, यात्रुहरु स्थानीय अन्दाजी ४० वर्षीय धनबहादु पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर र ३५ वर्षीय निशा मगर रहेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक लक्ष्मण तोसीले जानकारी दिए। दुर्घटनामा पर्नेमा रिक्सा चालक बाहेक अन्य सबै एकै परिवारको रहेको बुझिएको छ।
शनिबार साँझ ७ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका १ वीरेन्द्र बजार स्थित बिराटनगरबाट धनगढी जाँदै गरेको सु प्र ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोलाई ठक्कर दिएको थियो।
दुर्घटनामा १४ वर्षका शीतल मगर र ९ वर्षका रोशन मगर गम्भीर घाइते भएका छन्। उनीहरूको जनकपुरधाम स्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।