चन्द्रगढी सामुदायिक वनको अध्यक्षमा ८ जनाको उम्मेदवारी
भद्रपुर । भद्रपुर-९ स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयन चुनावी प्रक्रियाबाट चुनिने पक्का भएको छ । यही कार्तिक २२ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । मुख्य राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवारसम्मको सहभागिता रहेको यस चुनावलाई यस पटक निकै चासोका साथ हेरिएको छ ।
अध्यक्षका लागि नेपाली काँग्रेसको समर्थनमा गुरुप्रसाद घिमिरे, एमालेको समर्थनमा अनुज खतिवडा, रास्वपाको समर्थनमा चूडामणि मैनाली, जेनजी युवाहरूको समर्थनमा राजु बराल, र स्वतन्त्र रूपमा हिराप्रसाद पोखरेल, रमेश न्यौपाने, पुण्यप्रसाद पोखरेल र कृष्णप्रसाद दाहाल उम्मेदवार बनेका छन् ।
उपाध्यक्षमा ८, सचिवमा ५, सहसचिवमा ६ र कोषाध्यक्षमा ४ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । खुला महिला सदस्यमा पनि ४ जनाले नाम दर्ता गराएका छन् । चन्द्रगढी सामुदायिक वन समूह चारआली निचाझोडा जङ्गल अन्तर्गत रहेको छ । जसको क्षेत्रफल करिब ४३० हेक्टरमा फैलिएको छ । समूहको स्थापना २६ वर्षअघि भएको थियो र यसले स्थानीय समुदायको वन संरक्षण र स्रोत व्यवस्थापनमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ ।