इक्यान झापाको अध्यक्षमा कार्की, उपाध्यक्षमा भण्डारी
बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाको अध्यक्षमा राजकुमार कार्की निर्वाचित भएका छन् । बिर्तामोड सम्पन्न इक्यान झापाको चौथो अधिवेशन तथा सातौँ वार्षिक साधारण सभाले दुई वर्षे कार्यकालका लागि कार्कीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
बिर्तामोड एजुकेशन फाउन्डेसनका सञ्चालक समेत रहेका कार्कीले इक्यान झापाको स्थापनाकालबाटै विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । उनी कोषाध्यक्ष, सचिव, उपाध्यक्ष हुदैं अध्यक्ष बनेका हुन् ।
त्यस्तै समितिको आईपीपीमा निवर्तमान अध्यक्ष रोशन सुवेदी रहेका छन् । समितिको उपाध्यक्षमा अशोक भण्डारी चयन भएका छन् । बिर्तामोडस्थित बीज इन्टरनेश्नल एजुकेशन सर्भिसका सञ्चालक समेत रहेका भण्डारीले यसअघि सचिव, कोषाध्यक्ष र सदस्यको जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गरिसकेका छन् ।
त्यस्तै संस्थाको सचिवमा विशाल सिटौला चयन भएका छन् । समितिको कोषाध्यक्षमा तुलसी पाठक सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । समितिको सदस्यहरूमा सरोश खरेल, नवीन बोहोरा, मोहन पराजुली र निशा दुलाल सर्वसम्मत चयन भएका हुन् । शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आएको नेपाल शैक्षिक परामर्श संघमा ५० बढी सदस्यहरू रहेका छन् । संस्थाको संस्थापक अध्यक्षका रुपमा सुमन शर्मा जमरकट्टेल रहेका छन् ।
नेपाल शैक्षिक परामर्श संघका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईको प्रमुख आतिथ्यमा इक्यान झापाको चौथो अधिवेशन सम्पन्न भएको हो । नवनिर्वाचित समितिले आजै शपथ ग्रहण गर्दै दुई वर्षे कार्यकालको सुरुवात गरेको छ ।