इलाम–झापा जोड्ने मेची राजमार्ग फेरि अवरुद्ध
वर्षाका कारण मेची राजमार्ग फेरि अवरुद्ध भएको छ। गत असोज १८ गते रातिको वर्षाका कारण मेची राजमार्गको राजदुवालीस्थित माइखोलामाथिको सडकमा पहिरो गएर अवरुद्ध भएको थियो। हिरोमाथिनै सडक ट्याक बनाएर पुनः सडक सञ्चालन गरिए पनि वर्षाका कारण फेरि सडक अवरुद्ध भएको हो ।
मेची राजमार्गमा बिहीबार साँझदेखि नै जिल्ला प्रशासन कार्यालय इलामले यातायात बन्द गरेको थियो। यो सडकको विकल्पमा रहेको सिमल गोलाई तिल्केनी सडक पनि अहिले शुक्रबारदेखि बन्द गरेको इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन्
वैकल्पिक सडक सिमलगोलाई सडकमा पनि ठाउँ–ठाउँमा पहिरो झरेको, सडक चर्किएको र तत्काल वर्षा भइरहेकाले यो सडक बन्द गरिएको प्रजिअ नेपालले जानकारी दिइन्।
यता इलाम–झापा जोड्ने अर्को वैकल्पिक सडक केचना-कञ्चनजंघा सडक पनि अहिले बन्द छ। यो सडकबीचमा रहेको माइखोलाको बेलासे पक्की पुल असोज १८ को वर्षाले बिचमा भासिएको छ। यही सडकबीचमा पर्ने पुवा खोलाको बेलीब्रिज पनि असोज १८ को बाढीले बगाएको थियो। पूूर्वी पहाड ताप्लेजुङ, पाँचथर, इलामको लाइफलाईनका रुपमा रहेको मेची राजमार्ग बन्द भएपछि ताप्लेजुङसम्मका सर्वसाधारण समस्यामा पर्ने भएका छन्।