मुस्ताङमा कात्तिकमै हिमपात, किसान र पर्यटन व्यवसायी उत्साहित
मुस्ताङ । जलवायु परिवर्तनका कारण लगातार तीन वर्षसम्म राम्ररी हिउँ पर्न नसकेको हिमाली जिल्ला मुस्ताङमा यस वर्ष कात्तिकमै हिउँ परेको छ।
आज बिहानदेखि परेको हिउँ निरन्तर परिरहेको छ। अक्सर मङ्सिर महिनाको अन्त्यतिर पर्नुपर्ने हिउँ कात्तिकमा नै परेको हो। मुस्ताङवासीले केही वर्षयता भारी मात्राको हिमपात देख्न पाएका थिएनन्। जसका कारण यहाँको कृषि, पर्यटन र जैविक विविधतामा नकारात्मक असर पुर्याएको थियो।
यहाँ यस वर्ष समून्द्री सतहको तीन हजार मिटरमाथिको उचाइमा हिमपात भएको हो। मुक्तिनाथ र उपल्लो मुस्ताङको घमीदेखि माथि बस्ती तथा उच्चलेकमा हिमपात भइरहेको छ।
प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर र त्यसआसपासका क्षेत्रमा हिउँ पर्ने क्रम रोकिएको छैन । वारागुङ मुक्तिक्षेत्र–३ छुसाङदेखि तल्लो क्षेत्रका बस्तीमा निरन्तर वर्षा भइरहेको छ भने बस्तीदेखि माथिका उच्चलेकमा हिउँ परेको छ।
मनाङ हुँदै थोरङलापास पदमार्ग, जोमसोम, ठिनी हुँदै तिलिचो जाने नमुखलेकदेखि मेसोकोन्दो पास पदमार्ग र धौलागिरि आइसफलको धम्पुस पिक पदमार्गलगायत स्थानमा बाक्लो हिउँ पर्दा पदमार्ग अवरुद्ध भएका छन् ।
उपल्लो मुस्ताङको कोरला सडकमा पनि हिउँ पर्दा सवारीसाधन जान सकस छ। स्थानीय प्रशासनले यसअघि नै सार्वजनिक सूचना प्रकाशित गरी उच्च स्थानका पर्यटकीय पदमार्गमा यात्रा नगर्नसमेत आग्रह गरिसकेको छ।
यहाँको मुक्तिनाथ क्षेत्रमा भारी हिमपात हुँदा मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थीहरू सकसमा परेका छन्। वर्षासँगै हिमपात हुँदा मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थीलाई हिउँले सास्ती पुर्याएको छ।
मुक्तिनाथ पुगेका दर्शनार्थी हिमपातसँगै चिसो अत्यधिक बढेका कारण र स्नानकुण्डमा हिउँ जमेका कारण स्नान गर्ने र १०८ धारामा नुहाएर मन्दिरको दर्शन गर्नसक्ने अवस्था नरहेको बताइएको छ।
जसोतसो मुक्तिनाथ दर्शन गरी फर्किएका सवारीसाधन तथा यात्रु सडकमा जमेको हिउँका कारण खिङ्गाबाट तल झर्न सक्ने अवस्था नरहेको वारागुङ मुक्तिक्षेत्र–१ का वडाध्यक्ष प्रवेश गुरुङले जानकारी दिए। यहाँको प्रहरी प्रशासनले पनि कागबेनीदेखि मुक्तिनाथसम्मको सडकमा यात्रा नगर्नु भनेर अनुरोध गरेको बताइएको छ।
अहिलेसम्म हिमपातका कारण स्थानीय र पर्यटकको दैनिक जनजीवन प्रभावित भए पनि हिउँका कारण कुनै पनि मानवीय तथा भौतिक क्षति नभएको प्रशासनको भनाइ छ।
वडाध्यक्ष गुरुङले हिमाली क्षेत्रमा अनुकूल समय हिमपात हुनु स्वाभाविक भए तापनि यस वर्ष कात्तिकमै हिउँ पर्दा आश्चर्य तुल्याएको बताए। हिउँले कृषि, पर्यटन र पशुपालन क्षेत्रलाई फाइदा पुग्ने भए पनि बाक्लो हिमपातका कारण स्याउलगायतका बोटबिरुवालाई आंशिक क्षति पुर्याएको वडाध्यक्ष गुरुङको भनाइ छ।
मुस्ताङमा स्याउको पोस्ट हार्भेस्ट अन्तिम चरणमा पुगेको छ। स्याउको पोस्ट हार्भेस्ट सकिएलगत्तै मङ्सिरमा यहाँका स्याउका बोट पात झरेर उजाड हुन्छन्।
यस वर्ष कात्तिकमा नै परेको हिउँले उच्चलेकको चरन क्षेत्रमा पशुपालनका लागि निकै राम्रो हुने भेटेरिनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्रका प्रमुख डा लालमणि अर्यालले जानकारी दिए।
जलवायु परिवर्तनका कारण अनुकूल समयमा हिउँ नपर्दा उच्चलेक चरन क्षेत्रमा घाँस पलाउन छोडेको र अनधिकृत घाँस पलाउने गर्दा पशुपालन व्यवसाय सङ्कटमा पर्दै गइरहेकामा यस वर्षको हिउँले पशुपालकका लागि चरन क्षेत्र सहज हुने अपेक्षा उनले गरे।
अनुकूल मौसममा हिउँ नपर्दा उच्चलेकका वन्यजन्तु आहाराको खोजीमा बस्ती नजिक आउने गर्दा मानव र हिउँ चितुवाबीचको द्वन्द्व बढेको थियो।
चरन क्षेत्रमा पर्याप्त मात्रामा घाँस पलाउन सकेमा पशुपालक र वन्यजन्तुका लागि राम्रो हुने डा अर्यालले उल्लेख गरे। यसैगरी यस वर्षको हिमपातले यहाँ स्याउलगायत अन्नबालीलाई राम्रो फाइदा पुग्ने कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङको भनाइ छ।
हिउँले यहाँको रैथानेबालीमा लाग्ने रोगकिराको सङ्क्रमणलाई समेत न्यूनीकरण गर्ने भएकाले उत्पादन क्षमता पनि अभिवृद्धि गर्ने केन्द्र प्रमुख गुरुङको भनाइ छ।
यस वर्ष थप दुई/तीन पटक यही हिसाबले हिउँ परेमा मुक्तिनाथ क्षेत्रमा राष्ट्रिय स्की प्रतियोगिता आयोजना गर्न सकिने मुक्तिनाथस्थित होटल ग्रान्ड साम्वलाका सञ्चालक सुरज गुरुङले जनाए।
विगत तीन वर्षदेखि मुस्ताङमा राम्ररी हिउँ नपर्दा राष्ट्रिय स्की प्रतियोगिता आयोजना गर्न नसकिएको सञ्चालक गुरुङको भनाइ छ। नेपाल स्की सङ्घले तीन वर्षअघि लगातार तीन संस्करणमा मुक्तिनाथ क्षेत्रमा राष्ट्रिय स्की प्रतियोगिता सम्पन्न गरिसकेको गुरुङले जानकारी दिए।
“यहाँ तीन वर्षदेखि हिउँ राम्ररी परेको थिएन, यो वर्ष कात्तिकमै हिउँ पर्न थालेको छ”, सञ्चालक गुरुङले भने, “यस्तै रफ्तारले हिउँ पर्दै गएमा स्की प्रतियोगिता आयोजना गर्न सकिन्छ होला, पर्याप्त हिउँ जमेमा मुक्तिनाथ पाखोमा स्की टोलीलाई खबर गर्नेछौँ।”