यस्तो छ सीमावर्ती मेची नदी किनारमा छठ पूजाको तयारी (तस्बिरसहित)
झापा । नेपाल–भारतको सीमा भएर बग्ने भद्रपुरस्थित मेची नदी किनारमा छठ पूजाको तयारी पूरा भएको छ । आज बेलुका अस्ताउँदो सूर्य र भोलिपल्ट मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै मनाइने तराईवासीको मुख्य चाड छठ पर्व हर्षोल्लासका साथ मनाउन मेची नदी नयाँ बेहुलीझैँ सिँगारिएको छ ।

जिल्लाकै सबैभन्दा फराकिलो र लामबद्ध छठ मनाइने मेची नदी पूर्वपट्टिको भागमा भारतीय व्रतालु र पश्चिम पट्टीको भागमा नेपालका व्रतालुले नदीलाई सङ्गम स्थल बनाएर सूर्य भगवानको पूजा आराधना गर्दै आइरहेकोले यहाँ मनाइने छठको कोशी प्रदेशमै छुट्टै पहिचान छ ।
भद्रपुर ५ स्थित मेची नदी किनारको मसानघाटदेखि मेची पुलको मुख्य प्रवेशद्वार हुँदै देवी बस्तीसम्मको करिब डेढ किलोमिटरमा सयौँ घाट निर्माण गरिएको छ ।
पूजा स्थलमा पण्डाल, केराको बोट, विभिन्न प्रकार फुल, विभिन्न रङ्गका अबिरसहित झिलिमिली बत्ती लगाएर सजावट गरिने काम पूरा भइसकेको मैथिल समाज भद्रपुरका सचिव सुशील कर्णले जानकारी दिए ।
.jpeg)
यहाँ मधेसी समुदायबाहेक अहिले साझा पर्वको रूपमा पहाडी, मारवाडी, बङ्गाली, राजवंशीलगायतका समुदायले मेची नदीमा छठ पर्व मनाउँदै आइरहेका छन् । मेची नदीमा छठ हेर्न भारतसहित देशका विभिन्न जिल्लाबाट करिब ५० हजार भक्तजन आउने अनुमान रहेको आयोजक समितिले जनाएको छ ।
सुरक्षाको दृष्टिकोणले पूजाको सामग्री बोक्ने तीन पाङग्रे (ठेला भ्यान) र अशक्त, ज्येष्ठ नागरिकको हकमा सिटी सफारीलाई घाटसम्म जाने दिने निर्णय भएको छ । दुई पाङग्रे, चार पाङग्रे र ६ पाङग्रे सवारी साधनाको हकमा देबीवस्तीको पशुपति प्रावि नजिकै रोकिने र भन्सार अगाडिबाट जाने ती सवारीसाधनलाई भद्रपुर माविमा पार्किङ गराइनेछ ।
.jpeg)
नदी किनारमा हुने सम्भावित आपराधिक तथा उच्छृखंल गतिविधि रोक्न विभिन्न स्थानमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको संयुक्त बिट, पैदल गस्ती, मोबाइल गस्ती परिचालन गर्न एक सय ५० बढी सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ । जिल्लाको मेचीसहित कनकाई, माई, निन्दा, हडिया, अदुवा, देउनियाँ, बिरीङ, रतुवा, कमल लगायतका नदी किनारहरूमा पनि छठको तयारी पूरा भएको छ ।

.jpeg)
.jpeg)




.jpeg)
