सभाखोलामा डुबेर दुईजनाको मृत्यु
सङ्खुवासभाको सभा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । गत असोज २८ गते साँझ ५ बजे सभापोखरी गाउँपालिका ५ स्थित सभा खोलामा हाम फालेर बेपत्ता भएका ३२ वर्षीय दिनेश बम्जनको शव आज दिउँसो फेला परेको छ ।
अरबिट इनर्जी लिमिटेडद्वारा निर्माणाधीन सभाखोला हाइड्रोपावरमा काम गर्ने कामदार मकवानपुर हेटौडा उपमहानगरपालिका वडा न. १८ बस्ने बमजनको शव घटनास्थलभन्दा अन्दाजी १ किलोमिटर तल सभाखोलाको बिच ढुंगामा अड्किएको अवस्थामा फेला परेको हो ।
त्यस्तै सङ्खुवासभाको चैनपुर –११ स्थित सभा खोलामा पिकनिक खान आएका एकजनाको डुबेर मृत्यु भएको छ । गएराति ८ः५० बजे धनकुटा छथर जोरपाटी –२ बस्ने २६ वर्षीय मिङमा शेर्पासहित ८ जनाको टोली सभाखोला किनारमा पिकनिक खान आएको थियो । मिङमा शेर्पा खोलामा हात धुने क्रममा खोलाले बगाई बेपत्ता भएका थिए ।
खोजी गर्ने क्रममा घटनास्थलभन्दा करिब २५० मिटर तल खोलाको बिचमा ढुङ्गामा अड्किएको अवस्थामा उनी मृत फेला परेका छन् । दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।