२०८३ बैशाख २४ गते , विहीबार
झापामा सर्पले डस्दा एक बालकको मृत्यु
झापाको शिवसताक्षीमा सर्पले डस्दा एक बालकको मृत्यु भएको छ । हिजो दिउँसो ३ बजेतिर शिबसताक्षी नगरपालिका –७ लालपानी बस्ने मनकुमार तामाङका छोरा वर्ष ५ का सक्षम तामाङ घरनजिकैको बाँस झ्याङ नजिक खेलिरहेको अवस्थामा उनको दायाँ खुट्टामा विषालु गोमन सर्पले टोकेको थियो । खुट्टामा चोट लागेर बेहोस भएपछि बालकलाई उपचारको लागि बिर्ता सिटी अस्पताल बिर्तामोड ल्याइएको थियो ।
उनी खेलेको ठाउँनजिकै गोमन सर्प फेला परेपछि सर्पले टोकेको शङ्का गरिएको थियो । साँझ ५ बजेतिर नेपाली सेनाको सर्प दंश केन्द्र चारआलीतर्फ लाने क्रममा बाटोमा नै मृत्यु भएको शङ्का लागेर आफन्तले बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो । इलाका प्रहरी कार्यालय शिवगंजबाट प्रहरी टोली खटिएर थप बुझ्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।