२०८३ बैशाख २४ गते , विहीबार
बिर्तामोडमा करेन्ट लागेर एक महिलाको मृत्यु
झापाको बिर्तामोडमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । आज दिउँसो अन्दाजी १२ः१५ बजे बिर्तामोड– १० फेसबुक चोक बस्ने ५५ वर्षीया तालामाई मर्डीको करेन्ट लागेर मृत्यु भएको हो । उनले स्थानीय कुमार मगरको घरबाट तानेर आफ्नो घरमा बिजुली बाल्ने गरेकी थिइन् । बिजुली बिग्रिएपछि तार हेर्दै जाने क्रममा करेन्ट लागेर मर्डी खेतमा घोप्टो परी मृत अवस्थामा फेला परेकी थिइन् ।
थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट टोली खटिएको थियो । शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।