२०८३ बैशाख २४ गते , विहीबार
इलाममा झोलुङ्गे पुलबाट झरेर महिलाको मृत्यु
इलाममा झोलुङ्गे पुलबाट झरेर महिलाको मृत्यु भएको छ । आज बिहान ११ बजे माई नगरपालिका ६ माई खोलामा वडा नं ६ र १ जोड्ने झोलुङ्गे पुलमुनि वडा नं .६ बस्ने कृष्णबहादुर मगरकी श्रीमती ४८ वर्षीया चन्द्रमाया मगरको शव फेला परेको हो । पुल क्रस गरेर बाँसतर्फ आउँदै गर्दा उनी झरेकी हुन् ।
माई खोलाको बगरमा महिला मृत अवस्थामा फेला परेको देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी महमाईबाट प्रहरी सहायक निरीक्षक पुष्पराज पोखरेलको कमान्डमा प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो ।
थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक सञ्जीव बोगटीको कमान्डमा प्रहरी टोली गएको थियो । कानुनी प्रक्रिया पुरा गरी शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।