२०८३ बैशाख २४ गते , विहीबार

झापाका अपायक मतदान स्थल सार्न आग्रह

sajilo news
झापा
२०८२ कार्तिक २ गते , आईतबार
झापाका अपायक मतदान स्थल सार्न आग्रह

आगामी निर्वाचनमा झापाका अपायक मतदान स्थल सार्न जिल्ला निर्वाचन कार्यालयसँग आग्रह गरिएको छ । जिल्ला निर्वाचन कार्यालय झापाको आयोजना तथा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको संयोजनमा आज राजनीतिक दलका प्रतिनिधि , जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूसँग जिल्ला प्रशासन कार्यालयमा छलफल भएको थियो । छलफलमा राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिहरूले जिल्लाका केही अपायक मतदान स्थल सार्न आग्रह गरेका हुन् ।

मेचीनगर १० को प्राथमिक स्वास्थ्य केन्द्र धुलाबारीमा रहेको मतदान स्थललाई १० नं वडा कार्यालयमा सार्नुपर्ने आग्रह गरिएको थियो । त्यस्तै गौरादह ६ का केही मतदाताहरूलाई अपायक पर्ने ठाउँमा मतदान स्थल रहेको भन्दै त्यहाँका वडाध्यक्षले पायक ठाउँमा सार्न आग्रह गरेका थिए ।

आ–आफ्ना पालिका र वडामा रहेका मतदान स्थलहरूको अनुगमन गरिदिन जनप्रतिनिधिहरूले आग्रह गरेका थिए । यही कात्तिक १२ गतेदेखि जिल्लाका मतदान स्थलहरूको अनुगमन गर्ने कार्यक्रम रहेको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले बताए । जिल्लामा २८५ वटा मतदान स्थल रहेका छन् ।

आजको छलफलमा नेपाली काँग्रेस , नेकपा एमालेसहित ११ वटा राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । त्यस्तै गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीसहित विभिन्न पालिकाका वडाध्यक्षहरू उपस्थित रहेका थिए ।

सम्बन्धित समाचार