इक्यान झापाको चौथो अधिवेशन कात्तिक १४ मा हुने
बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ (इक्यान झापा)को चौथो अधिवेशन तथा सातौँ साधारण सभा कात्तिक १४ गते हुने भएको छ ।
शैक्षिक परामर्शका रुपमा काम गर्दै आएका झापाका शैक्षिक परामर्श दाताहरूको साझा संस्थाको रुपमा रहेको इक्यान झापाले दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्ने इक्यान झापाका अध्यक्ष रोशन सुवेदीले जानकारी दिए ।
इक्यान झापामा करिब ५० भन्दा धेरै कन्सल्टेन्सी व्यवसायीहरू आबद्ध रहेका छन् । शैक्षिक परामर्श दाताको रुपमा काम गर्दै आएको इक्यान झापाले सामाजिक उत्तरदायित्व अन्तरगत पनि विभिन्न कामहरू गर्दै आएका छ । चौथो अधिवेशन तथा सातौँ साधारण सभाको अवसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको अध्यक्ष सुवेदीले जानकारी दिए ।
बिर्तामोडस्थित होटेल सिद्धार्थ ग्राण्डमा हुने अधिवेशनको तयारी सुरु गरिएको इक्यान झापाका सचिव अशोक भण्डारीले जानकारी दिए । परामर्श ब्यवसायीहरुलाई मर्यादित बनाउँदै आफ्नो व्यवसाय सञ्चालन गर्ने उद्देश्यका साथ इक्यान झापाको गठन भएको थियो । उच्च शिक्षा अध्ययनका लागि विश्वका विभिन्न विश्वविद्यालयमा जान चहाने विद्यार्थीहरूलाई शैक्षिक परामर्श दिदैं आएको कन्सल्टेनसीहरुलाई व्यवस्थित गर्ने उद्देश्यले नेपाल शैक्षिक परामर्श संघको गठन भएको हो ।
इक्यान झापाको संस्थापक अध्यक्ष सुमन शर्मा जमरकट्टेल हुन भने निवर्तमान अध्यक्ष मिलन ओली रहेका छन् । आगामी नेतृत्व समेत सर्वसम्मत रुपमा चयन गर्ने र सहमति, सहकार्य र एकताको सन्देश सबैलाई प्रवाह गर्ने काम इक्यान झापाले गर्ने जनाइएको छ ।