झापाका कैदीबन्दीहरुले बाढीपीडितलाई गरे १ लाख २० हजार सहयोग
झापा । झापाका कैदीबन्दीहरुले बाढीपीडित परिवारको सहयोगार्थका लागि एक लाख २० हजार ५१० रुपैयाँ प्रदान गरेको छ।
गत असोज १९ गते गएको बाढीले दक्षिणी झापावासी बढी प्रभावित भएकोले कैदीबन्दीहरुले सो बराबरको रकम संकलन गरी सोमबार कारागार प्रशासनलाई बुझाएको हो। झापा कारागारका आन्तरिक प्रशासन प्रमुख (चौकीदार) मनोज लावतीले सो रकम झापा कारागारका प्रमुख (जेलर) रेवन्त भट्टराईलाई हस्तान्तरण गरेका थिए।
रकम बुझ्दै कारागार प्रमुख भट्टराईले विपद्मा परेका व्यक्तिहरूको सहयोगका लागि कैदीबन्दीहरुले देखाएको कार्य सराहनीय भएको भन्दै प्रशंसा गरेका छन्। उनले कैदीबन्दीहरुप्रति आभारसमेत प्रकट गरेका छन्। कैदीबन्दीहरुले प्रदान गरेको रकम जिल्ला प्रशासन कार्यालय झापाको झापा गाउँपालिका विपद् व्यवस्थापन कोषमा जम्मा गरिसकेको उनको भनाइ छ।
जेल जीवन बिताए पनि यहाँका कैदीबन्दीहरु समाज र नागरिकप्रति उत्तरदायी भएकाले थोरै रकम भएपनि सहयोग गरेको बन्दी विकास पुस्तकालय सचिव रमेश पोखरेलले जानकारी दिए। यसअघि पनि यहाँका कैदीबन्दीहरुले भूकम्प पीडित, बाढीपीडित तथा अन्य विपदमा परेका मानिसहरूलाई पनि सहयोग गर्दै आइरहेको उनको भनाइ छ। झापा जिल्लामा बाढीबाट करिब ५ हजार परिवार प्रभावित भएका छन्। त्यसमध्ये सबैभन्दा धेरै झापा गाउँपालिकाका रहेका छन्।