२०८३ बैशाख २४ गते , विहीबार

झापाका बाढीपीडितलाई एकद्धार प्रणालीमार्फत राहत वितरण, ६३६ परिवारले पाए राहत सामग्री

sajilo news
पार्थ मण्डल
२०८२ आश्विन २२ गते , बुधबार
झापाका बाढीपीडितलाई एकद्धार प्रणालीमार्फत राहत वितरण, ६३६ परिवारले पाए राहत सामग्री

झापा । झापाका बाढीपीडितहरूलाई आजदेखि राहत वितरण सुरु गरिएको छ । जिल्ला बिपद व्यवस्थापन समिति झापाले स्थानीय तहको नेतृत्वमा एकद्धार प्रणालीमार्फत बाढीपीडितहरूलाई राहत वितरण गरिरहेको झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए । जिल्लाकै सबैभन्दा बढी बाढी प्रभावित क्षेत्र झापा गाउँपालिकाका ६३६ बाढीपीडित परिवारलाई बुधवार राहत वितरण गरिएको प्रजिअ अधिकारीले बताए ।

झापा १ का मिलनबस्तीका ८९, सालमाराका २८८, झापा २ का सुगाबथानका ६६ र कुवाडीका १९३ गरी ६३६ परिवारलाई प्याकेजअनुसार राहत वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले जानकारी दिए । 

प्याकेज अनुसार प्रतिपरिवार एक बोरा सोना मन्सुली चामल (२५ केजी), एक लिटर खानेतेल, दुई केजी नुन, ५ केजी आलु, दुई केजी मुसुरी दाल, एक कार्टुन पानी, दुई थान ओछ्याउने मेट्रेस र दुई थान कम्बल वितरण गरिएको उनले बताए । 

उनका अनुसार वडा नम्बर १ का बाढीपीडितलाई रेडक्रस भवन र वडा नम्बर २ का बाढीपीडितलाई इलाका प्रहरी कार्यालय कुमरखोदमा वितरण गरिएको छ । आज पहिलो चरणमा वितरण गरिएको र आवश्यकता बमोजिम क्रमशः राहत वितरण गर्दै लैजाने उनको भनाई छ ।

झापामा पाँच हजारभन्दा बढी परिवार प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रायः सबैको घर डुबानमा परी ओढ्ने ओछ्याउने, खाद्यान्न लगायतका सामग्री पूर्णतः नष्ट भएको छ ।स्थानीय तह तथा जिल्ला स्तरबाट जुटाइने राहत सामग्रीले मात्र पर्याप्त नहुने भएको हुँदा तत्कालका लागि १५०० परिवारलाई पुग्ने खाद्य सामग्री (प्याकेज) तथा हजार थान ब्ल्याङ्केट तथा हजार थान मेट्रेस उपलब्ध गराइदिन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेश विराटनगरसँग माग गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँले जानकारी दिए । 

बाढी प्रभावित परिवारको यथार्थ विवरण स्थानीय तह, स्थानीय प्रहरी, रेडक्रस समेतको संयुक्त टोलीले संकलन गर्ने, यसका लागि आवश्यक सहजीकरण नेपाल रेडक्रस सोसाइटीले गर्ने, कृषि तथा पशु एवंम सडक, पुल, खानेपानी, विद्युत् लगायतका पूर्वाधारका क्षेत्रमा भएको क्षतिको विवरण सम्बन्धित विषयगत कार्यालयले सात दिनभित्र तयार गरी जिल्ला प्रशासन कार्यालय झापामा उपलब्ध गराउने, बाढी डुबान प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या हुन नदिन स्वास्थ्य कार्यालय र प्रादेशिक अस्पतालको अगुवाइमा निजी क्षेत्रका स्वास्थ्य संस्थाहरू समेतको सहभागितामा स्वास्थ्य टोलीहरू यथाशीघ्र खटाउनका साथै नियमित सूचना प्राप्त गरी कतै स्वास्थ्य समस्या देखिए तत्काल विशेषज्ञ सहितको टोली खटाउने विपद्को बैठकमा निर्णय भएको सहायक प्रजिअ प्रसाईँले बताए ।  

कनकाई, माई र मेची नदीमा  असोज १९ गते आएको बाढीले पूराना सबै रेकर्ड तोड्दै झापा गाउँपालिका, गौरीगञ्ज गाउँपालिका, शिवसताक्षी नगरपालिका, भद्रपुर नगरपालिकालगायत क्षेत्र डुबानमा परेको थियो । झापा गाउँपालिकामा मात्रै बाढीका कारण १८ सय परिवार विस्थापित भएका थिए । 

 

सम्बन्धित समाचार