मेची नदीको बाढीमा फसेका चार जनाको सकुशल उद्धार

मेची नदीको बाढीमा फसेका चार जनालाई सकुशल उद्धार गरिएको छ । हिजो बिहान करिब साढे आठ बजे मेचीनगर नगरपालिका– १५ वंशलस्थित मेची नदीको बीच भागमा फसेका चार जनालाई नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीद्वारा सकुशल उद्धार गरिएको हो ।
मेची पारी रहेको नेपाली बस्ती मेचीनगर– १५ ग्वालबस्तीका ५० वर्षीया खोमती यादव, सोही स्थानका ५० वर्षीया मरियम मुर्मु , ५० वर्षीय पग्लूँ पाहन र भारत घर भई हाल मेचीनगर– १५ ग्वालबस्ती बस्ने ४० वर्षीय विष्णु सिंहलाई डुंगाबाट उद्धार गरिएको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले बताए ।
प्रहरी निरीक्षक राजवंशीले स्थानीय सरकार, स्थानीयवासी, प्रहरी प्रशासनको सहकार्य समन्वय र उच्च सतर्कताका कारण बाढीबाट मानवीय क्षति नभएको र धनमालको क्षति समेत खासै ठूलो मात्रामा नभएको बताए । मेचीपारी मेचीनगर वडा नम्बर – १५ को ग्वालबस्ती, झाडुबस्ती, सिसौडाँगी गरी तीनवटा नेपाली बस्ती रहेका छन् ।
मेचीनगर नगरपालिकाको टोलीले मेची नदीले गरेको क्षति, मेचीनगर ३– को पहलेधाप धरधरेमा सुकेनिन्दा नदीले पुर्याएको क्षति, यसैगरी वडा नम्बर ८, २,४ लगायतका स्थानमा मेची र निन्दा नदीले पुर्याएको क्षतिका बारेमा स्थानीयवासीसँग जानकारी लिएको छ ।