एम्बुलेन्सको ठक्करबाट मोटरसाइकलमा सवार झापामा कार्यरत सहायक हवल्दारको मृत्यु

एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा नेपाल प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ जिल्ला केराबारी गाउँपालिका –२ घर भई जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत सहायक हवल्दार सुरेन्द्र सुब्बा लिम्बू रहेका छन् । आइतबार साँझ साढे ६ बजे बेलबारी –११ लक्ष्मीमार्गस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च १९७८ नम्बरको एम्बुलेन्सले विपरीत दिशाबाट आउँदै गरेको सहायक हवल्दार लिम्बूले चलाएको प्रदेश १–०२– ०४७ प ६९२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
घाइते लिम्बूलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । ठक्कर दिने एम्बुलेन्स चालक दमक नगरपालिका ९ का ४१ वर्षीय विष्णु प्रसाईँ प्रहरी चौकी डाँगीहाटले नियन्त्रणमा लिएको छ । त्यस्तै झापाको मेचीनगरमा मोटरसाइकल दुर्घटनामा परी सर्लाही बलरा ६ घर भई बीओपी सतिघट्टामा कार्यरत ३६ वर्षीय सशस्त्र प्रहरी हवल्दार अकबर मियाँ घाइते भएका छन् ।
आइतबार दिउँसो साढे ४ बजे मेचीनगर–७ सतिघट्टा पिपलबोटस्थित भित्री सडक खण्डमा सतिघट्टाबाट काँकडभिट्टातर्फ जाँदै गरेको एएए ६१२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००१ ज ३६८० नम्बरको म्याजिक भ्यान एकापसमा ठक्कर खाँदा दुर्घटना भएको थियो । घाइते सशस्त्र प्रहरी हवल्दार मियाँको टाउकोमा चोट लागेको छ । उनको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको जनाइएको छ ।