अविरल वर्षाका कारण झापाको जनजीवन अस्तव्यस्त, २५ हजार बढी मानिस विस्थापित
झापा । लगातार दुई दिनदेखि परेको अविरल वर्षाका कारण झापाको जनजीवन अस्तव्यस्त बनेको छ। जिल्लाका कनकाई माई र मेची नदीमा आएको बाढीले करिब ५ हजार ४८१ घरधुरीका २५ हजार २३१ जना विस्थापित भएका छन्।
नदी तटीय क्षेत्रमा बसोबास गर्ने उनीहरूलाई सुरक्षित स्थानतर्फ सारिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए। नदीहरूमा बाढीले शिवसताक्षी नगरपालिका-४ का ७ घर, शिवसताक्षी-५ का ५ घर, शिवसताक्षी-६ का २७ घर, शिवसताक्षी-७ का ८ घर, गौरीगञ्ज गाउँपालिका-१ का १४४ घर, अर्जुनधारा नगरपालिका-७ का एक घर विस्थापित भएका छन्।
.jpeg)
त्यस्तै गौरीगञ्ज गाउँपालिका-२ का पिण्डलघुटु २१ घर, गौरीगञ्ज-२ आपगाँछीका २१ घर, गौरादह-५ कटकपुर सुकुम्वासी बस्तीका ३१ घर, भद्रपुर नगरपालिका-५ देवीवस्तीका १२ घर, भद्रपुर-५ राई टोलका १५ घर, झापा गाउँपालिका-१ सुडुखुट्टु, मिलनबस्ती, सितुमारी, लसुनगंज, सालमाराका १५ सय घर, झापा-२ सुगान बथान, कुवाडी, सडकबारी, बालुवाटार, सिर्जना बस्ती, हल्दार बस्ती, राउत डाँडा, नबिरल टोलका गरी २१ सय घर, झापा-३ सिमलबाडी, झाँटी, गैरीगाउँका १५ सय घर, झापा ६ युवा टोल, बाल बथानका ३४ घर र झापा-७ तिन टोलिया, टप्पु, चौधरी टोलका ५५ घर विस्थापित भएको डीएसपी खड्काले बताए।

सबैभन्दा बढी झापा गाउँपालिकामा विस्थापित भएका छन्। उनले भने, ‘विस्थापित भएका परिवारका सदस्यहरू कोही आफन्तको पुगेका छन् भने कोही नजिकै विद्यालयमा आश्रय लिएका छन्।’ कनकाई माई नदी र मेची नदीमा पानीको बहाव अझै उच्च रहेकोले ती स्थानका तटीय क्षेत्रहरू सुरक्षाकर्मीहरू खटाएर राहत तथा उद्धारको कार्य तीव्र दिएको उनले बताए।

तटबन्ध कटान गर्दा करिब ११ करोडको क्षति
कनकाई नदीले गौरीगञ्ज गाउँपालिका-२ अन्तर्गत हुलाकी राजमार्गको तल्लो तटीय दायाँ किनारमा करिब २०० मिटर तटबन्ध कटान गरेको छ। तटबन्ध कटान गर्दा होकलबारी गाउँको करिब ११४ घरबारी डुबानमा परेको छ भने ५०० हेक्टर धान खेतमा क्षति भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार एक हजार ५०० मिटर तटबन्ध कटान गर्दा करिब १० करोड बराबरको क्षति भएको जनाएको छ। त्यस्तै झापा गाउँपालिका-२ को कुवाडीमा अनुमानित २०० मिटर तटबन्ध कटान गरी करिब २५ हेक्टर जग्गामा क्षति भएको छ। यसबाट अनुमानित ७५ लाख रुपैयाँ क्षति भएको छ। मेची नदीले ठाउँ–ठाउँमा रहेका स्परहरू भत्काउँदा करिब ५० लाख रुपैयाँ बराबरको क्षति मन्त्रालयले जनाएको छ।