२०८३ बैशाख २४ गते , विहीबार

इलाममा पहिरोमा पुरिँदा २ जनाको मृत्यु, १५ जना बेपत्ता

sajilo news
इलाम
२०८२ आश्विन १९ गते , आईतबार
इलाममा पहिरोमा पुरिँदा २ जनाको मृत्यु, १५ जना बेपत्ता

अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परेर इलामका २ जनाको मृत्यु भएको छ भने पहिरोमा परि १५ जनाभन्दा बढी बेपत्ता भएका छन्।

इलाम नगरपालिका–६ घोसमा डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुर्दा २ जनाको मृत्यु भएको हो। घरमा रहेका ३ जना बेपत्ता छन्। पहिरोले पुरेर घाइते भएका २ जनालाई उपचारका लागि अस्पताल लगिएको छ। प्रहरी घटनास्थलमा पुगेकाले उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ।

घर माथिबाट खसेको पहिरोका कारण इलामको माइजोगमाई गाउँपालिका–६ का बर्मालाल सोग्मीका पाँच जना परिवारका सदस्य पहिरोमा परेर बेपत्ता भएका छन्। माथिबाट खसेको पहिरोको कारण उनीहरू रातिबाट सम्पर्कविहीन बनेका हुन्।

इलामको मांसेबुंग गाउँपालिका–१ मा बाढीले पुल बगाएको छ। मांसेबुंगमा पनि पहिरोले पुर्दा ५ जना हराएका छन्। इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बेपत्ता र मृतकको आधिकारिक सङ्ख्या आई नसकेको बताइन्। 

त्यस्तै, शन्दकपुर गाउँपालिका–३ सुलुबुङका कुमार सेढाईकी आमा र छोरी पनि पहिरोमा परेर बेपत्ता भएका छन्। इलाममा बिहानबाट पानी रोकिएको छ। पानी रोकिएपछि उद्धारको कार्य जारी रहेको इलामका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एक नारायण कोइरालाले बताए।

 

सम्बन्धित समाचार