कनकाई र मेची नदीमा जलस्तर खतराको सीमा नाघ्याे, उच्च सतर्कता अपनाउन आग्रह
लगातारको अत्यधिक वर्षाका कारण झापाको कनकाई र मेची नदीमा जलस्तर खतराको सीमा नाघेकाे छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान साढे ५ बजेसम्म कनकाईकाे जलस्तर ५.६१ मिटर पुगेकाे छ । कनकाईकाे सचेतना स्तर ३.८ मिटर र खतरा स्तर ४.३ मिटर हाे । अहिलेकाे जलस्तर २०७४ सालमा पुगेको उच्चतम बिन्दु ५.४ लेबल समेत पार गरिसकेकोले छ ।
त्यसतै मेची नदीको जलस्तर ११४.८४ मिटर पुगेकाे छ। मेचीकाे सचेतना ११३.८ र खतरा स्तर ११४.३ मिटर हाे । झापा र इलामका धेरैजसो स्थानमा १५० मिमीभन्दा बढी वर्षा मापन गरिएको छ । जसले झापाको दक्षिणी क्षेत्र बाढीकाे उच्च जोखिममा पारेको छ। स्थिति गम्भीर बन्दै गएपछि झापा जिल्ला प्रशासन कार्यालयमा आज बिहान ६:४५ बजे आकस्मिक बैठक बस्ने भएको छ। बैठकमा उद्धार र राहत समन्वयका विषयमा छलफल हुने बताइएको छ।
नेपाल रेडक्रस सोसाइटी झापा शाखाका अध्यक्ष लोकराज ढकालले विपद् प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान अनुरोध गर्दै सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । रेडक्रसका स्वयंसेवकहरूलाई उद्धार र सहयोग कार्यमा सक्रिय रुपमा खटिन निर्देशन दिइएको उनले बताए । यता प्रशासनले झापावासीलाई आवश्यक नपरी घर बाहिर ननिस्कन र सम्भावित जोखिम क्षेत्रबाट टाढा रहन अनुरोध गरेको छ।