झापा प्रशासनले भन्यो: ठूलो पानी पर्ने सम्भावना रहेकोले सजगता अपनाउनुहोला
झापा । असोज १८ गतेदेखि २० गतेसम्म कोशी प्रदेश लगायत देशका विभिन्न भागमा ठूलो पानी पर्ने सम्भावना रहेकोले मनसुनजन्य बिपद जोखिमबाट जोगिन जिल्लावासीलाई झापा प्रशासनले सजगता अपनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले आज सूचना जारी गर्दै झापावासी समक्ष यस्तो आग्रह गरेका हुन् ।
जारी गरिएको सूचनामा भनिएको छ,
१) मिति २०८२ असोज १८, १९ र २० गते अत्यावश्यक अवस्थामा बाहेक यात्रामा ननिस्कनु हुन र अत्यन्त जरुरी काम परेर निस्कनै पर्ने अवस्थामा समेत मौसमको अवस्था बुझेर छोटो दुरिको यात्रामा मात्र निस्कनु हुन ।
२) झापाबाट काठमाण्डौं जाँदा प्रयोग गरिने बिपी राजमार्ग कान्ति लोकमार्ग, हेटौडा- कुलेखानी-दक्षिणकाली सडक, त्रिभुवन राजपथ तथा चितवन भएर जाँदा प्रयोग हुने चितवन-मुग्लिन-नौबिसे-काठमाण्डौं सडक खण्डका विभिन्न ठाउँमा पहिरो जाने क्रम चलिरहेकाले उक्त सडक खण्डमा रात्रिकालीन यातायात सञ्चालन गर्नु जोखिमपूर्ण हुने तथा स्थानीय प्रशासनले ती ठाउँमा रातीमा गाडी चलाउन बन्देज समेत लगाएको हुँदा उक्त स्थान भएर जाने गरी रातिको यात्रा नगर्नु नगराउनु हुन ।
३) मेची, विरीङ, कनकाई लगायतका नदी खोला किनारमा रहेका घरपरिवारका महानुभावहरूले आफूले प्रयोग गरिरहेको औषधी, लगाउने लुगाकपडा, लालपूर्जा, नागरिकता, नगद, गरगहना तथा अन्य अत्यावश्यक र बहुमूल्य सामग्री तत्काल बोकेर हिँड्न मिल्ने गरी सुरक्षित पोको बनाई राख्न र बाढी, डुबानको अवस्था आइपरेमा त्यस्तो पोको झोला समेत लिई समयमै सम्बन्धित वडा कार्यालयले तोकेको सुरक्षित स्थानमा सर्नु हुन ।
४) स्थानीय तहहरूले बाढी, डुबानको जोखिममा रहेका आफ्नो क्षेत्रका मानिसहरूको उद्दारका लागि स्थानीय निकाय, सङ्घसंस्था, स्वयंसेवक लगायतसँग आवश्यक समन्वय गरी तयारी अवस्थामा राख्न हुन तथा उद्दार पश्चात् राख्न पहिचान गरिएका स्थान (विद्यालय, सामुदायिक भवन आदी) को सरसफाइ गराइराख्न तथा ती भवनको तालाचावी बोक्ने व्यक्तिलाई सम्पर्कमा राखी राख्न हुन ।
५) उद्योगी, व्यापारी, व्यवसायी एवं विपद्मा सहयोग गरी मानव सेवा गर्न इच्छुक संघ संस्था, महानुभावहरूले हुन । स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयसँग सम्पर्क समन्वय गर्न
६) गलत सूचनाले आम मानिसमा अनावश्यक बास फैल्याउने, क्षति धेरै हुने आदी भएकाले सामाजिक सञ्जालमा विपद्सम्बन्धी सामग्री सम्प्रेषण गर्नु हुनेले तथ्यमा आधारित सामग्री मात्र सम्प्रेषण गर्न हुन।