भद्रपुरमा दुईवटा मोटरसाइकल ठोक्किँदा दुर्घटना, एकै परिवारका तीनसहित चार जना घाइते
भद्रपुर । भद्रपुरमा दुईवटा मोटरसाइकल ठोक्किँदा श्रीमान्, श्रीमती र छोरासहित चार जना घाइते भएका छन् । आज साँझ ६ बजे भद्रपुर नगरपालिका-७ सयपत्री तेलीभिट्टास्थित भित्री सडक खण्डमा मन्त्री चौकबाट चन्द्रगढीतर्फ आउँदै गरेको मे ६प ४५७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्र १–०१–०१३प ८१७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा मे ६प ४५७ नम्बरको मोटरसाइकलका चालक बिर्तामोड नगरपालिका-५ का ३० वर्षीय वीरबहादुर राजवंशी गम्भीर घाइते भएका छन् ।
उनको टाउकोमा चोट लागेको छ ।त्यस्तै सोही मोटरसाइकलमा पछाडि सवार उनकी श्रीमती २९ वर्षीया दिविका राजवंशी र उनका छोरा ९ महिनाका सार्थक राजवंशी घाइते भएका छन् । तीन जनाको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । त्यस्तै प्र १–०१–०१३प ८१७ नम्बरको मोटरसाइकलका चालक भद्रपुर- ६ का २३ वर्षीय उदयराज कार्की पनि गम्भीर घाइते भएका छन् । टाउकोमा चोट लागेका कार्कीको प्रादेशिक अस्पताल भद्रपुरमा प्रहरीको निगरानीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।