झापामा विजया दशमीका दिन ६ वटा सवारी दुर्घटना, दुई जनाको मृत्यु, २० घाइते
झापामा अत्यधिक दुर्घटना हुने क्रममा हिजो मात्रै विजया दशमीका दिन ६ वटा सवारी दुर्घटना भएको छ । जसमा दुई जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएका छन् ।
हिजो बिहान ९ः३० बजे बिर्तामोड –६ स्थित गिरीबन्धु टी–इस्टेट अगाडीको पूर्वपश्चिम राजमार्गमा विराटनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्र १–०१–००१ ख ४४५९ नंको सगरमाथा यातायात यात्रुवाहक बस आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा बसका यात्रु सुनसरी इटहरी –११ बस्ने ४६ वर्षीय दिनेशकुमार भट्टराई र बसका कन्डक्टर मोरङ रंगेली –२ बस्ने ४२ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको हो । बसका चालक र सहचालकसहित १४ जना घाइतेको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
त्यस्तै हिजो बिहान १०ः३० बजे कमल –६ मंगलबारेमा पाडाजुंगीबाट गौरादहतर्फ जाँदै गरेको प्र१–०१–०१५प ५९०९नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेका साइकल यात्री कमल –५ बस्ने राधेश्याम चौधरीका छोरा १४ वर्षीय अंगज चौधरीलाई ठक्कर दिएको छ । घाइतेलाई आम्दा अस्पताल दमकमा प्राथमिक उपचारपश्चात् थप उपचारको लागि नोबेल अस्पताल विराटनगर रेफर गरिएको छ । मोटरसाइकल चालक दमक –८ बस्ने २८ वर्षीय प्रेम भण्डारी पनि सामान्य घाइते भएका छन् । उनको निम्स अस्पताल दमकमा उपचार भइरहेको छ ।
त्यस्तै हिजो दिउँसो २ बजे अर्जुनधारा– ३ खुदुनावारी चौकस्थित खुदुनावारी–शनिश्चरे सडक खण्डमा शनिश्चरेबाट खुदुनावारीतर्फ जाँदै गरेको प्र.१–०१–०१७ प.८६३९ न.को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार अर्जुनधारा –२ बस्ने ५५ वर्षीया जसबा घिमिरे घाइते भएकी छन् । टाउकोमा चोट लागेकी घिमिरेको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । उपचारमा मोटरसाइकल चालक अर्जुनधारा –८ बस्ने २० वर्षीय निश्चल खनाल संलग्न रहेका छन् ।
त्यस्तै हिजो साँझ ७;३० बजे अर्जुनधारा –५ पाण्डवपुरस्थित भित्री सडक खण्डमा लक्ष्मीपुरबाट पाण्डवपुरतर्फ जाँदै गरेको मे १० प ५६४७ न.को मोटरसाइकलले रोकिराखेको प्र.१–०१–०२ ख.९३२२ न.को ट्रकमा पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २६ वर्षीय हुमन तामाङ घाइते भएका छन् । टाउको र अनुहारमा चोट लागेका घाइतेको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै हिजो साँझ ७ः४० बजे कनकाई –३ सुरुङगा बजारस्थित भित्री सडक खण्डमा तत्काल नम्बर नखुलेको मोटरसाइकलले पैदल यात्री गौरादह – ९ घर भई हाल कनकाई –३ सुरुङ्गामा डेरा गरी बस्दै आएकी ५८ वर्षीया गीता भन्ने नेत्र बुढाथोकीलाई ठक्कर दिई घाइते बनाएको छ । सुरुङगास्थित कनकाई नगर अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बिर्तामोडतर्फ ल्याइएको छ । फरार मोटरसाइकलको खोजतलास भइरहेको जनाइएको छ ।
त्यस्तै गएराति ८ः०७ बजे कचनकवल गाउँपालिका –१ कुटीस्थित राजमार्गको पक्की सडक खण्डमा घेरावारीबाट राजगढतर्फ आउँदै गरेको मे ४ प ८४१८ नम्बरको मोटरसाइकलले सोही ठाउँ बस्ने लोबी यादवका छोरा १५ वर्षीय रोहित यादवलाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको छ । गम्भीर घाइतेलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको छ भने मोटरसाइकल चालक बाह्रदशी –३ बस्ने ४२ वर्षीय हरिलाल राजवंशीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।