आगलागीमा परी रोमानियामा इलामकी सोनीसहित दुई नेपाली युवतीको मृत्यु

रोमानियाको टेटेरानी शहरस्थित तीनतले होटलमा भएको आगलागीमा दुई नेपाली युवतीको मृत्यु भएको छ। रोमानियाको राजधानी बुखारेष्टबाट करिब ६० किलोमिटरको टाढा रहेको उक्त होटलमा आगलागी भएको हो। रोमानिया मामिला हेर्ने जर्मनस्थित नेपाली दुतावासका अनुसार सेप्टेम्बर २९ प्राहोभा होटलमा आगलागी भएको थियो।
जसमा इलामको माई नगरपालिका–७ की २१ वर्षीया सोनी लिम्बु र काठमाडौंको दक्षिणकाली नगरपालिका–९ की २४ वर्षीय सुस्मिता तामाङको मृत्यु भएको दुतावासले जनाएको छ।
दुतावासका अनुसार उनीहरुलाई उद्दार गर्न खोज्दा चुलाचुली–३ इलामकी २२ बर्षिय सुमिना मगर घाइते भएकी छन्। उनको भने बुधबार अस्पतालबाट डिस्चार्ज भएको छ।
सोनी एक वर्षअघि र सुस्मिता पाँच महिना अघि उक्त होटलमा काम गर्ने गरी पुगेकी थिइन्। सोही होटलमा कार्यरत म्याग्दीका नारायणबहादुर बिकले बिहान ७ बजे होटलमा आगलगी भएको बताए।
आगलागी अघि उक्त होटलले सुरक्षाको मापदण्ड पालना नगरेको भन्दै स्थानीय प्रशासनले एकलाख रोमानियन जरिवाना लगाई बन्द गराएको थियो। नेपाली दुतावासका उपप्रमुख सागर फुयालले पीडित परिवार, रोजगारदाता र रोमानिया सरकारसग समुन्वय भइरहेको बताए।