दशैंमा पर्ला त पानी ? यस्तो छ मौसम पुर्वानुमान
यस पटकको दशैं अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने देखिएको छ। मौसम पूर्वानुमान महाशाखाले आज दशैं विशेष मौसम बुलेटिन जारी गरेर दशैं अवधिमा मनसुनी वायुको प्रभाव रहिरहने जनाएको हो।
महाशाखाका अनुसार नेपालमा हाल मनसुन वायुको प्रभाव केही कमजोर रहेको र नेपालबाट मनसुन बहिर्गमन भइनसकेको अवस्था छ। नेपालमा सरदरमा अक्टोबर २ तारिखमा मनुसन बहिर्गमन हुने भए तापनि प्रत्येक वर्ष सो मिति भने फरक फरक हुने गर्दछ।
असोज १४ (अष्टमी): बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
असोज १५ (नवमी): कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरू हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
असोज १६ (दशमी): बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा साथै मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।