२०८३ बैशाख २४ गते , विहीबार

झापामा जेनजी आन्दोलनमा मृत्यु भएका तीनैजनाको परिवारलाई राहत र क्षतिपूर्ति रकम आइपुग्यो

sajilo news
झापा
२०८२ आश्विन ११ गते , शनिबार
झापामा जेनजी आन्दोलनमा मृत्यु भएका तीनैजनाको परिवारलाई राहत र क्षतिपूर्ति रकम आइपुग्यो

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रहरीसँगको झडपमा बिर्तामोडमा मारिएका तीनैजनाको परिवारलाई राहत र क्षतिपूर्ति रकम आइपुगेको छ ।

झापाका दुईजना र पाँचथरका एक जना गरी तीनैजनाको परिवारका लागि संघीय र प्रदेश सरकारबाट राहत र क्षतिपूर्ति रकम आएको हो । जेनजी आन्दोलनका क्रममा मारिएका झापा अर्जुनधारा ११ का ३९ वर्षीय गोपाल सेढाई र अर्जुनधारा ८ का ३२ वर्षीय दिनेश राजवंशीको परिवारका लागि संघीय सरकारबाट १५–१५ लाख र कोशी प्रदेश सरकारबाट १–१ लाख रुपैयाँ आइपुगेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयमा आइपुगेको सो रकम हिजै जिल्ला प्रशासन कार्यालय झापाको खातामा जम्मा भइसकेको सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँले जानकारी दिए । उनले भोलि कार्यालय खुल्नेवित्तिकै दुवै परिवारलाई बोलाएर सो रकम प्रदान गरिने बताए ।

उता जेनजी आन्दोलनका क्रममा बिर्तामोडमा प्रहरीको गोली लागेर ज्यान गुमाएका पाँचथर हिलिहाङ–२ सिंहापुरका ३१ वर्षीय कमल भण्डारीका परिवारका लागि पनि राहत र क्षतिपूर्ति रकम आएको छ ।

जिल्ला प्रशासन कार्यालय पाँचथरमा भण्डारी परिवारका लागि १५ लाख रुपैयाँको राहत तथा क्षतिपूर्ति रकम प्राप्त भएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मृतक परिवारका लागि राहतस्वरुप १० लाख र क्षतिपूर्तिबापत ५ लाख दिने भनिएअनुसार सबै रकम गृह मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालयमा आइपुगेको हो । ‘राहत रकम आइसकेको छ, अब उहाँहरूले मृत्यु दर्ता, मुचुल्का र वडाको सिफारिस लिएर आउनासाथ भुक्तानी पाउनुहुन्छ,’ पोखरेलले भने ।

सम्बन्धित समाचार