२०८३ बैशाख ३० गते , बुधबार

जोगवनीकाे साम्प्रदायिक तनाव मत्थर भएपछि रानी नाका सुचारु

sajilo news
मोरङ
२०८२ आश्विन १० गते , शुक्रबार
जोगवनीकाे साम्प्रदायिक तनाव मत्थर भएपछि रानी नाका सुचारु

भारतको जोगवनी बजारमा शुक्रबार बिहान देखिएको साम्प्रदायिक तनाव मत्थर भएपछि नेपाल–भारत सीमा नाका सुचारु भएको छ। 

हिन्दू र मुस्लिम समुदायबीच झडप भएर जोगवनीको अवस्था तनावग्रस्त बनेपछि दिउँसो १२ बजेबाट करिब ३ घण्टा नाका बन्द गरिएको थियो। शुक्रबार बिहान करिब ११ बजेतिर हिन्दू र मुस्लिम समुदायबीच विवाद बढ्दै गएर झडप भएको थियो। त्यसपछि विराटनगरको रानी नाकाबाट नेपालीलाई भारत प्रवेशमा रोक लगाइयो। 

नेपाली प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्दै सीमा क्षेत्रमा कडाइ गर्नुका साथै आवतजावत बन्द गराएको थियो। तर, अवस्था सामान्य हुँदै गएको जानकारी आएपछि नाका सञ्चालनमा आएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। उनका अनुसार आवतजावत सुचारु भएको भए पनि स्थिति फेरि असामान्य भए तत्काल नाका बन्द गरिने छ।

जोगवनी नेपाली उपभोक्ताको प्रमुख किनमेल केन्द्र भएकाले दैनिक सयौं नेपाली त्यहाँ पुग्ने गर्छन्। त्यहाँ तनाव सुरु भएपछि किनमेलमा गएकाहरु भागदौड गर्दै नेपाल फर्किएका थिए। सीमा क्षेत्रमा रोकिन पुगेकाहरु पनि नेपालतर्फ फर्किन बाध्य भएका थिए।

इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदका बारेमा सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी गरिएको भन्दै मुस्लिम समुदाय आन्दोलित भएको र त्यसपछि बजरंग दलका युवा सडकमा उत्रिएसँगै दुवै समुदायबीच झडप भएको जानकारी भारतीय पक्षले दिएको छ। दुवै समूह लाठी र भाला बोकेर प्रदर्शनमा उत्रिएको र केही संरचनामा तोडफोडसमेत भएको जनाइएको छ।

स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा भारतीय सुरक्षाकर्मी परिचालन गरिएको छ। भारतीय अधिकारीहरुले दुवै समुदायलाई संयमित रहन आग्रह गर्दै वार्तामार्फत विवाद समाधान गर्ने प्रयास गरेको थियो। भारतीय अधिकारीकै पहलमा तनाव साम्य भएको बताइएको छ।

सम्बन्धित समाचार