२०८३ भाद्र १४ गते , आईतबार

नवरात्र पाँचौँ दिन, तर आज पनि कुष्माण्डा देवीकै पूजा आराधना

sajilo news
झापा
२०८२ आश्विन १० गते , शुक्रबार
नवरात्र पाँचौँ दिन, तर आज पनि कुष्माण्डा देवीकै पूजा आराधना

बडादशैँको पाँचाैँ दिन। तर शुक्रबार बिहान सूर्योदय चतुर्थीमै हुने भएकाले नवदुर्गामध्ये कुष्माण्डा देवीकै पूजा आराधना गरिँदैछ।

दिनका हिसाबले पाँचौँ देवी स्कन्दमाताको पूजा गर्नुपर्ने भए पनि शुक्रबार बिहान चतुर्थी नै रहेकाले कुष्माण्डा देवीकै पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

यिनी ब्रह्माण्ड उत्पत्तिको कारक मानिएकी छिन्। सिंहमाथि सवार यिनको अष्टभुजामा कमण्डलु, कलश, धनु, वाण कमल चक्र गदा आदि छन्। कुष्माण्डाको आराधनाबाट रोग, शोक र विभिन्न प्रकारका कष्ट निवारण हुने विश्वास गरिन्छ।

नवरात्रमा प्रत्येक दिन एक-एक देवीको आराधना गर्ने परम्परा छ। घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर श्रद्धालु शक्तिस्वरूपा भगवतीको आराधना गर्छन्।

नवरात्रमा भगवती दुर्गाका नौ स्वरूपको पूजा आराधना गरिन्छ। प्रत्येक दिन एक एक देवीको आराधना गरी नौ दिनमा नवरात्र अनुष्ठान पूरा गरिन्छ। पुराणअनुसार विभिन्न समयमा भगवती पार्वतीले लिएको रूपलाई नै नवदुर्गाका रूपमा पूजा आराधना गरिएको हो।

पुराणहरूमा वर्षमा चार नवरात्र पर्ने उल्लेख छ। तीमध्ये पनि शरद ऋतुमा पर्ने नवरात्रमा शक्तिस्वरूपमा भगवतीको आराधनाको विशेष महत्त्व रहेको बताइएको छ।

सम्बन्धित समाचार