बिर्तामोडपछि प्रशासनले दमकमा पनि कर्फ्यु लगायो
बिर्तामोडपछि जिल्ला प्रशासन कार्यालय झापाले दमकमा पनि कर्फ्यु लगाएको छ । जेनजी युवा पुस्ताको आन्दोलन उग्र बनेपछि प्रशासन कार्यालय झापाले पूर्वमा रतुवा खोला, पश्चिममा डिपो रोड, उत्तरमा फाल्गुनन्द चोक र दक्षिणमा पूर्व पश्चिम राजमार्ग बाट ३ किलोमिटर र दक्षिणसम्म आज राति १० बजेदेखि भोलि बिहान ५ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।
उक्त आदेशसम्म सो क्षेत्रभित्र प्रदर्शन, बैठक, घेराउ गर्न नपाउने उनले बताए । जेनजी समूहका प्रदर्शनकारी दमकमा प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा ढुंगामुडा गर्नुका साथै दमक नगरपालिकाका गेट अगाडि तोडफोड र आगजनी गरेका छन् । सोही क्रममा प्रहरीसँग झडप हुँदा प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएका छन् । जिल्लाको बिर्तामोड र दमक आज दिनभर अशान्त बनेको थियो ।
यसअघि प्रशासनले बिर्तामोड नगर क्षेत्रको पूर्वमा बिर्तामोड बसपार्क छिर्ने मोडसम्म, पश्चिममा राम चोक, उत्तरमा महानन्दचोक र दक्षिणमा सैनिक मोड चार किल्ला तोकेर आज राति साढे ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म कर्फ्यु आदेश जारी गरिसकेको छ ।