जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या १९ पुग्यो
जेनजी पुस्ताको आन्दोलनका कारण आज देशभर गरेर १९ जनाको मृत्यु भएको छ। काठमाडौँमा १७ र इटहरीमा २ गरी १९ जनाको मृत्यु भएको हो। काठमाडौँ उपत्यकाको प्रदर्शनमा मात्रै २५६ जना घाइते भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यता मानव अधिकार आयोगले जेनजी प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गरेको जनाएको छ। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गर्ने कार्य बन्द गर निर्देशन दिएको छ।
'नेपालको संविधान र अन्तर्राष्ट्रिय मानव अधिकार कानुन बमोजिम कुनै पनि व्यक्ति वा समूहलाई संयमित रूपमा आफ्ना विमति राख्ने अधिकार छ। लोकतान्त्रिक सरकारले नागरिकका उचित आवाजहरूलाई समयमै पहिचान गरी त्यस प्रकारका विमतिका आवाजहरूको समयमै यथोचित सम्बोधन गर्नुपर्दछ। यस प्रकारका प्रदर्शनहरू तोडफोड र आगजनीमा बदलिनु र सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नु दुःखद छ,' आयोगले भनेको छ।