किन उठ्न सकेन भद्रपुर ?
भद्रपुर अर्थात् नेपालकै सबैभन्दा पुरानो शहरमध्येको एउटा शहर । देशकै राजनीतिक, सामाजिक एवम् औद्योगिक गौरव समेत थियो, कुनै बेला । यसको विगत गर्वोन्नत, वैभवशाली र लोभलाग्दो रहेको छ । स्थापनाकालदेखि नै सक्रिय, चलायमान र गुल्जार थियो– यो शहर । तर, महेन्द्र राजमार्ग काँकडभिट्टाबाट बनेपछि भने यसको दुर्भाग्यको दिन शुरु भयो । पञ्चायती व्यवस्थामा उत्तरी झापाकै नेताहरू हावी भएकाले सदरमुकामबाट राजमार्ग बन्नै पर्ने अनिवार्य आवश्यकतालाई बेइमानीपूर्ण रुपले खोसियो । केही वर्ष यता यो नगर झापा जिल्लाको एउटा सदरमुकाम मात्रमा सीमित छ ।
त्योभन्दा अघि जिल्लाको प्रमुख मात्र होइन; एक मात्र व्यापारिक, औद्योगिक र राजनीतिक केन्द्र थियो–भद्रपुर । गौरव र वैभव बोकेको यो शहरले पञ्चायतकालमा सबल र प्रभावशाली राजनीतिक नेतृत्व पाउन सकेन । जस कारणले यो शहर दिनप्रतिदिन धमिराउँदै र दुब्लाउँदै गयो ।
भद्रपुरको आजको अवस्थाका लागि अब रोएर–कराएर केही फाइदा छैन । त्यो अरण्यरोदनले कुनै अर्थ र महत्व राख्तैन पनि । अरूलाई दोष दिएर आफ्नो कमजोरीबाट मुक्ति पाइन्न । हाम्रो नगर बनाउने जिम्मा हाम्रो आफ्नै हो । अरूले आएर बनाइदिने होइनन्, जसरी पहिलो पुस्ताले र केही हदसम्म त्यसको लगत्तैको पुस्ताले जुन सोच, भावना, त्याग, दूरदृष्टि, सामूहिक पहलका साथ यो भद्रपुरलाई जीवन्त र चलायमान बनायो; त्यो सोच र सक्रियता अहिले छैन ।
भद्रपुरबाट सीमा पारि इण्डियाको गल्गलिया जोड्ने मेची पुल बनाउन जनस्तरबाट संकलित २२ लाख ८० हजार रुपैयाँ तत्कालीन युवराज वीरेन्द्र पूर्वाञ्चल भ्रमणमा आएका बेला मेची पुल निर्माण गरिदिन बिन्ती–पत्र सहित थैली भेट गरिएको भए पनि षडयन्त्रमूलक ढङ्गले हड्पेपछि यो शहरको चरम दुर्भाग्य शुरु भएको हो । राजाको त्यो कदमका विरुद्धमा उतिबेलाका भद्रपुरका सचेत युवाहरूले ठूलो विद्रोह गरे । तर, उनीहरूको केही सीप लागेन । बरु त्यही विद्रोह वापत वर्षौं जेलमा थुनिए ।
यसरी एकपछि अर्को दुर्भाग्य व्यहोर्दै आएको २००८ सालमा स्थापित यस भद्रपुर नगरपालिका शरहदको आर्थिक, राजनीतिक सहित सबै प्रकारका आयतन खुम्चने क्रम अझैसम्म जारी छ । भद्रपुरको पहिलो पुस्ता सामाजिक उत्तरदायित्वप्रति सचेत र सक्रिय मात्र थिएन, विकास निर्माणमा आफ्नै लगानी र दानदातव्य समेतमा उदार थियो । जसको कारणले त्यतिबेला भद्रपुर हर तरहले सम्पन्न थियो । सुखद भविष्य बोकेको शहर थियो ।
पुस्तकालय, विद्यालयहरू, क्याम्पस, मेची अञ्चल अस्पताल, एयरपोर्ट, धर्मशाला, गौशाला लगायत थुप्रै मठमन्दिर, गुम्बाहरू त्यो पुस्ता र त्यसपछिको लगत्तैको पुस्ताले बनायो । एक समय व्यापार, उद्योग, साहित्य, पत्रकारिता, शिक्षा, स्वास्थ्य आदि जस्ता समाजसेवाको केन्द्रविन्दु रहेको भद्रपुर आफ्नो त्यो उत्कर्ष स्थितिबाट खस्कदै गएर अहिले त सुकेनास लागेको बिरामी झैं भएको छ । स्खलित हुने रफ्तार अझै जारी छ ।
भद्रपुरको आजको अवस्थाका लागि अब रोएर–कराएर केही फाइदा छैन । त्यो अरण्यरोदनले कुनै अर्थ र महत्व राख्तैन पनि । अरूलाई दोष दिएर आफ्नो कमजोरीबाट मुक्ति पाइन्न । हाम्रो नगर बनाउने जिम्मा हाम्रो आफ्नै हो । अरूले आएर बनाइदिने होइनन्, जसरी पहिलो पुस्ताले र केही हदसम्म त्यसको लगत्तैको पुस्ताले जुन सोच, भावना, त्याग, दूरदृष्टि, सामूहिक पहलका साथ यो भद्रपुरलाई जीवन्त र चलायमान बनायो; त्यो सोच र सक्रियता अहिले छैन । केही वर्ष यताका पुस्तामा त्यो सोच र सक्रियता त छैन नै; हामी भद्रपुरेली इमान्दार मात्र रहन नसकेका होइनौं, बेइमान नै समेत बनेका छौं । आफंैप्रतिको बेइमानीभन्दा खतरनाक र ठूलो बेइमानी अर्थोक हुँदैन ।
यतिबेला भद्रपुर नगरका कथित ठूलाबडा महाजन र सेठहरू, जसमा भूइँफुट्टा नवकुवेरहरू पनि पर्दछन्, समाज र आफ्नो ठाउँका लागि केही दिउँ भन्दा पनि आफूले नै कसरी हुन्छ लिउँ भनेर कम्मर कसेर लागेका छन् । अब भद्रपुरमा उद्योगी–व्यापारी नगण्य मात्र रहे । उद्योगी–व्यापारीका नाम र आवरणमा अधिकांश तस्कर र करछली गर्ने साहू–महाजनहरू चाहिं छँदैछन् । जसले सरकारलाई मात्र ठग्दैन, जनता र समाजसँग बेइमानी समेत नै पनि गर्दछन्, गर्दै आएका छन् । तिनले आफ्नो स्वार्थको तिजारी मात्रै भर्दै आइरहेका छन् ।
झापाका अधिकांश चिया बगान र फ्याक्ट्रीका मालिकहरू यस नगरमा छन् । चिया, चामल, प्लाइवुड, सिमेन्ट, इँटा, पशु–पंक्षीको दाना उद्योग र ग्यास फ्याक्ट्री लगायत पनि छन् । अर्थात्, व्यापार र उद्योगधन्दा नभएको र नचलेको पनि होइन । तर, उनीहरूमा आफ्नो ठाउँ र आफ्नो समाजका लागि केही गरौं भन्ने सोच र भावना अत्यन्त न्यून छ ।
अझ स्पष्ट भन्ने हो भने, सो वर्गले माग्नेलाई भीख, मन्दिरमा भेटी र जोगीलाई सिदा नै समेत पनि दिन गाह्रो मान्दा होलान् । बाँकी दान पुण्यको कुरा त धेरै परको कुरा भइगयो । यो नवधनाढ्य वर्गले आफ्नो वैध÷अवैध आयआर्जनको सानो अंश पनि सामाजिक काममा लगाउने हो भने भद्रपुरको अवस्था ह्वात्तै उठ्ने थियो । तर, तिनले त्यसो गर्ने सम्भावना लगभग छैन । सामाजिक सोच र चेत नभएका वर्तमान समयका नवकुवेरहरूमा समाजप्रतिको उत्तरदायित्व र कत्र्तव्य निर्वाह गर्नु पर्ने सोच पलाउला भन्ने आशा गर्नु पनि निरर्थक हुन सक्छ ।
सामान्य नागरिकहरूले त होस्टेमा हैंसे गर्ने हो । महाजनहरूले चाहिं आफ्ना गाउँ–नगरका खातिर प्रयत्न, पहल र लगानी गर्ने हो । तर, यहाँका साहु–महाजनहरू आफूलाई यति ‘गरीब’ ठान्छन् कि, बरू उनीहरूलाई नै कसले देओस् र कसैले दिए उनीहरू नलजाई थाप्थे होलान् ।
अब यस्तो घेराबन्दी झैं अवस्थामा भद्रपुरको विकास कसरी सम्भव छ ? विकास त निकै परकै अपेक्षा भइगयो, बरू जाने चाहिं अधोगति तर्फ हो । यस नगरलाई अरू बाहिरकाले बिगारेका पनि होइनन् र बाहिरकाले सपारिदिने पनि होइनन् । हामी आफैले हाम्रो ठाउँका लागि गर्नु पर्ने हो । तर, अहिलेका हाम्रा साहु–महाजनहरूको दरिद्र्याइँ हेर्दा त्यो प्रायः असम्भवजस्तै छ । यहाँका साहु–महाजनहरू अनपेक्षित चिसा, चाम्रा र लगभग असामाजिक छन् । यसै कारणले भद्रपुर दिनप्रतिदिन खस्कँदै गएको हो । यही दुर्भाग्यपूर्ण नियति भद्रपुरबासीले भोग्दै आउनु परेको छँदैछ, र अझै कतिञ्जेल भोग्नु पर्ने हो !