फेसबुक कम्पनी मेटाले सूची दर्ताका लागि आवश्यक कागजात मागेको मन्त्रालयको दाबी
नेपालमा फेसबुक, वाट्सएप, इन्स्टा बन्द निष्क्रिय हुने भएपछि आइटी कम्पनी मेटाले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको सचिवालयलाई सम्पर्क गरेको छ।
मेटाले मन्त्री गुरुङका स्वकीय शालिग्राम पराजुलीलाई इमेलमार्फत सम्पर्क गरेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव गजेन्द्र ठाकुरले जानकारी दिए। उनका अनुसार मेटाको सिंगापुरस्थित कार्यालयबाट नेपालमा दर्ता हुनका लागि आवश्यक कागजात मागेको प्रवक्ता ठाकुरको भनाइ छ। मेटाले सरकारी अधिकारीमार्फत भने सम्पर्कमा आएको होइन।
'मेटाले सरकारी संयन्त्रभन्दा पनि मन्त्रीको सचिवालयमार्फत सम्पर्कमा आएको हो। नेपालमा दर्ताका हुनका लागि आवश्यक कागजातका बारेमा उहाँले जिज्ञासा राखेका थिए। हामीले उक्त कुरा इमेलमार्फत जानकारी गराएका छौं,' प्रवक्ता ठाकुरले अन्नपूर्णसँग भने।
त्यस्तै हाम्रो पात्रोले पनि नेपालमा सूची दर्ताका लागि प्रक्रिया थालेको छ। प्रवक्ता ठाकुरका अनुसार हाम्रो पात्रोको प्रतिनिधिले बिहीबार सूची दर्ताका लागि मन्त्रालयमा सम्पर्क गरेको छ। यसअघि मन्त्रालयले सर्वोच्च अदालतको आदेश र मन्त्रिपरिषद्को निर्णयअनुसार नेपालमा २६ वटा सामाजिक सञ्जाललाई निष्क्रिय बनाउने निर्णय गरेको थियो।