मानव सेवा आश्रम मेचीनगरमा अर्का आश्रितको मृत्यु
मेचीनगर नगरपालिका वडा नं ४ स्थित मानव सेवा आश्रममा अर्का आश्रितको मृत्यु भएको छ । भदौ ७ गते मेचीनगर नगरपालिका वडा नं २ मा भेटिएका वतन नखुलेका वर्ष ६५ का बुढाथोकी बा भनी बोलाइने वृद्धलाई उद्धार गरी मानव सेवा आश्रममा लगी राखिएकोमा आज दिउँसो १.३० बजे सोही आश्रममा सुतिरहेको अवस्थामा मृत्यु भएको हो । अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट प्रहरी टोली खटिएको छ ।
करिब एक वर्षको अवधिमा मानव सेवा आश्रममा १० जना आश्रितहरूको मृत्यु भइसकेको छ । शारीरिक र मानसिक रुपमा अस्वास्थ्य अवस्थामा रहेका सडक मानवहरूलाई उद्धार गरी ल्याइने गरेका कारण मृत्यु हुनेहरूको सङ्ख्या बढेको आश्रमले जनाएको छ ।
आमडाँगीमा कार्यालय खोलेर मानव सेवा आश्रम झापा शाखाले गत वर्षको असारदेखि सेवा दिन थालेको हो । तर औपचारिक उद्घाटन मङ्सिर २३ गते भएको हो । यो बिचमा एक महिलासहित १० जना आश्रितहरूको मृत्यु भएको आश्रमले जनाएको छ । शारीरिक र मानसिक रुपमा कमजोर अवस्थामा उद्धार गरेर ल्याइएका आश्रितहरूलाई सेवाको क्रममा उपचार गर्दागर्दै पनि बचाउन नसकिएको आश्रमकी कर्मचारी गंगा थापाले बताइन् ।
हालसम्म सो आश्रमबाट १०३ जनाले सेवा लिएका छन् । नेपाल र भारत घर भएका गरी २४ जनाको पारिवारिक पुनर्मिलन भएको उनले बताइन् । त्यस्तै आफ्नो इच्छाले १४ जना घर गएका छन् भने एकजनाको स्थानान्तरण भएको छ । हाल आश्रममा ५७ जनाले आश्रय लिइरहेका छन् ।