दुईजना मृत भेटिए
झापा र इलाममा दुईजना मृत फेला परेका छन् । हिजो दिउँसो अन्दाजी १ः१५ बजे झापा अर्जुनधारा नगरपालिका-६ चिउरा मिलनजिक चौरमा बस्ने ५९ वर्षीया देवीमाया तामाङ बेहोस अवस्थामा फेला परेकी थिइन् । प्रहरी चौकी शनिश्चरेमा जानकारी प्राप्त हुनसाथ प्रहरी टोली खटिएर उपचारको लागि नगर अस्पताल शनिश्चरेमा लगी चेकजाँच गर्दा उनलाई डाक्टरले मृत घोषणा गरेका थिए । मृतकको शव सोही अस्पतालमा रहेको र थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट टोली गएको जनाइएको छ ।
उता इलाममा एक जना वृद्ध शौचालयभित्र मृत फेला परेका छन् । हिजो राति ११ः३० बजे इलाम सन्दकपुर २ मालिङ्गे घर भई दाजु सूर्यलाल राईको घरमा ९ महिनादेखि बस्दै आएका ७० वर्षीय चन्द्रबहादुर राई शौचालयभित्र मृत अवस्थामा फेला परेका हुन् । घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।