२०८३ असार २ गते , मंगलबार

बिर्तामोड नगरपालिकाले भन्यो- सामाजिक सञ्जालमा नकारात्मक टीकाटिप्पणी गर्ने कार्य बन्द गर्नु

sajilo news
झापा
२०८२ श्रावण १५ गते , विहीबार
बिर्तामोड नगरपालिकाले भन्यो- सामाजिक सञ्जालमा नकारात्मक टीकाटिप्पणी गर्ने कार्य बन्द गर्नु

बिर्तामोड नगरपालिकाको कार्यपालिकाको बैठकले व्यक्तिगत अफवाह फैलाउने, सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गर्ने जस्ता कार्य पूर्णत बन्द गर्न जनप्रतिनिधिहरूलाई सचेत गराएको छ ।

नगर उपप्रमुख नगेन्द्र सङ्ग्रौलाले वडाध्यक्ष अजय कार्कीको विरुद्धमा सामाजिक सञ्जालमा लेखेको टिप्पणीलाई लिएर हिजो नगरपालिकामा अप्रिय घटना भएपछि आज बसेको कार्यपालिकाको बैठकले सम्पूर्ण जनप्रतिनिधिहरूलाई त्यस किसिमको सचेत गराएको हो । बैठकले आफ्नो मान मर्यादा कायम गर्न र आचारसंहिता पूर्णरुपमा पालना गर्न अनुरोधसमेत गरेको छ ।

बैठकले हिजो दिउँसो उपप्रमुखको कार्यकक्षमा मेलमिलापकर्ताहरूको वार्षिक समीक्षा बैठक चलिरहेको अवस्थामा वडाध्यक्ष कार्कीको नेतृत्वमा २५÷३० जनाको समूह प्रवेश गरी फेसबुकमा लेखेको विषयलाई लिएर उपप्रमुख सङ्ग्रौलामाथि गालीगलौज, अभद्र व्यवहार गर्दै जनप्रतिनिधिले नै अपरिचित व्यक्तिहरूको समूह लिएर हुलहुज्जत गर्दै सिङ्गो नगरपालिकाको गरिमा घटाउने कार्य गरेकाले त्यस्तो अनुचित कार्यको भर्त्सना गर्दै सिङ्गो नगर कार्यपालिका खेद व्यक्त गरेको छ । उक्त विवादलाई अन्त्य गरी मेलमिलाप गर्न गराउन आज बसेको कार्यपालिकाको बैठकमा वडा नं. ८ का वडाध्यक्ष कार्की अनुपस्थित रहेका थिए ।

 

सम्बन्धित समाचार