२०८३ असार २ गते , मंगलबार

बिर्तामोडका उपप्रमुख र वडाअध्यक्षबीच कार्यालयभित्रै हात हालाहालको अवस्था किन बन्यो ?

sajilo news
झापा
२०८२ श्रावण १५ गते , विहीबार
बिर्तामोडका उपप्रमुख र वडाअध्यक्षबीच कार्यालयभित्रै हात हालाहालको अवस्था किन बन्यो ?

बिर्तामोड ।  फेसबुकमा लेखेको विषयलाई लिएर बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र सङ्ग्रौला र वडाध्यक्ष अजय कार्कीबीच नगरपालिका कार्यालयभित्रै झन्डै हात हालाहालको अवस्था बनेको थियो । 

जनताको अमूल्य मतबाट जितेर गएका जनप्रतिनिधिहरूले यसरी नगरपालिका कार्यालयमै गरेको अशोभनीय र अमर्यादित कार्यको अहिले चौतर्फी आलोचना भइरहेको छ ।फेसबुकमा लेख्न नहुने र लेखेकै कारण लोकलाज हुने गरी नगरपालिका कार्यालयमा घटाएको घटनाले समग्र नगरवासीलाई लज्जित बनाएको एक नगरवासीले बताएका छन् ।

लफडाका क्रममा दुई जना जिम्मेवार जनप्रतिनिधिहरूले बोलेको शब्द र गरेको व्यवहारसहितको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिएको छ । जुन भिडियोप्रति अधिकांशले तीव्र आलोचना गरेका छन् । हिजो दिउँसो नगर उपप्रमुखको कार्यकक्षमा उपप्रमुख सङ्ग्रौला र वडाध्यक्ष कार्कीबीच हात हालाहालको अवस्था सिर्जना भएको थियो । सामाजिक सञ्जाल फेसबुकमा उपप्रमुख सङ्ग्रौलाले “नेपाली नागरिकता बेचेर खाने, जेल हाल्नु पर्ने मानिस अदालतले फैसला अड्काउने , पुनः निर्वाचन लड्न अवसर दिने, सोही मुद्दामा परेका मानिस जेल बस्नुपर्ने , राष्ट्र द्रोही मानिसलाई अझै पनि भोट हाल्नु पर्छ ” जस्ता शब्दहरू वडाध्यक्ष कार्कीको विरुद्धमा लेखेका थिए ।

सोही विषयलाई लिएर वडाध्यक्ष कार्की आफ्नो नेतृत्वमा करिब ३० जना युवा लिएर उपप्रमुख सङ्ग्रौलाको कार्यकक्षमा विवाद गर्न गएका थिए । हात हालाहाल नभई दुवैबीचको घम्साघम्सीमा एक अर्काले चर्काचर्की गर्दै अपशब्द प्रयोग गरेका छन् । पछि प्रहरी आइपुगेपछि दुवै जनालाई छुट्याएको थियो ।

उपप्रमुख सङ्ग्रौलाले अत्यन्त नराम्रो शब्द प्रयोग गरी फेसबुकमा लेखेपछि आफूहरू सम्झाउन जाँदा विवाद भएको वडाध्यक्ष कार्कीले बताए । उता उपप्रमुख सङ्ग्रौलाले वडाध्यक्ष कार्कीले आफ्नो विरुद्धमा गलत प्रचार गरेपछि आफूले सो टिप्पणी गरेको प्रतिक्रिया दिएका छन् ।

सम्बन्धित समाचार