२०८३ असार २ गते , मंगलबार
रसुवाको ल्हेन्दे खोलामा बाढी : भन्सार यार्डमा रहेको धर्मकाटा बगायो, सजकता अपनाउन आग्रह
रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका-२ ल्हेन्दे खोलामा बाढी आउँदा टिमुरेस्थित भन्सार यार्डमा रहेको धर्मकाटा बगाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहान २ बजे चीनतर्फबाट पानीको बहाव बढेर बाढी आएको र उक्त बाढीले टिमुरेस्थित भन्सार यार्डमा रहेको धर्मकाटा बगाएको हो।
प्राधिकरणले अहिले पनि बाढीको सतह उच्च नै रहेकोले रसुवा, नुवाकोट र धादिङका भोटेकोशी र त्रिशुली नदी किनार र आसपासका नागरिकलाई सजकता अपनाउन अनुरोध गरेको छ। खोलामा माछा मार्न जाने, बाढीमा बगेर आएका काठ दाउरा टिप्न जानेजस्ता कार्यहरु नगर्ने आग्रह गरिएको छ।
यस अगाडि पनि चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा गत असार २३ गते आएको बाढीले ठूलो मात्रामा धनजनको क्षति गरेको थियो ।