२०८३ असार २ गते , मंगलबार

समाचार प्रभाव : ४२ दिनदेखि प्रादेशिक अस्पताल भद्रपुरमा बन्द रहेको रेबिजविरुद्धको भ्याक्सिन सेवा भोलिदेखि पुनः सुचारु

sajilo news
पार्थ मण्डल
२०८२ श्रावण १२ गते , सोमबार
समाचार प्रभाव : ४२ दिनदेखि प्रादेशिक अस्पताल भद्रपुरमा बन्द रहेको रेबिजविरुद्धको भ्याक्सिन सेवा भोलिदेखि पुनः सुचारु

भद्रपुर । प्रादेशिक अस्पताल भद्रपुरमा ४२ दिनदेखि बन्द रहेको रेबिजविरुद्धको भ्याक्सिन सेवा भोलि (मंगलबार) देखि पुनः सुचारु हुने भएको छ । निःशुल्क पाइने रेबिजविरुद्धको भ्याक्सिन छैन प्रादेशिक अस्पताल भद्रपुरमा, औषधि पसलबाट महँगो किन्नुपर्ने बाध्यता भन्ने शीर्षकमा टाइम्स अफ प्रदेशले समाचार प्रकाशन गरेपछि प्रादेशिक अस्पतालले आज सूचना जारी गर्दै पुनः सेवा सुचारु हुने बारेमा जानकारी गराएको हो । कोशी प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रबाट रेबिजविरुद्धको भ्याक्सिन प्राप्त भएकोले मङ्गलवारदेखि सेवा सुचारु हुन लागेको भनी अस्पतालको सूचना उल्लेख छ । 

अस्पतालमा गत असार ३ गतेदेखि बन्द भएको सेवाका कारण बिरामीहरू निजी फार्मेसीबाट महँगोमा भ्याक्सिन किन्न बाध्य भएका थिए ।  रेबिज एक घातक भाइरल रोग हो जुन प्रायः कुकुर, बिरालो, बाँदरजस्ता जनावरको टोकाइ वा र्‍यालले सर्छ। एक पटक लक्षण देखिएपछि यसबाट बच्न सकिँदैन। त्यसैले  २४ घण्टाभित्रै पहिलो भ्याक्सिन लगाउनु अत्यावश्यक सेवा ठानेर सरकारले यो भ्याक्सिन निःशुल्क दिनुपर्ने नीति नै बनाएको हो। 

तर, प्रादेशिक अस्पतालमा निःशुल्क पाइने भ्याक्सिन नहुँदा बिरामीहरू अस्पताल वरिपरिका निजी फार्मेसीहरूबाट साढे ६ देखि ७ सय रुपैयाँसम्म भ्याक्सिन खरिद गरी लगाउनुपर्ने अवस्था आइपरेको बिरामी तथा तिनका आफन्तजनहरूले गुनासो पोखेका थिए । 

सम्बन्धित समाचार