भद्रपुरमा फेरि प्रहरीले गोली चलायो, एक भारतीय लागूऔषध कारोबारी पक्राउ
झापा । भद्रपुरमा प्रहरीले गोली चलाएर फेरि एक भारतीय लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । काठमाडौँबाट खटिएको लागु औषध ब्युरो र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले शनिवार दिउँसो ३ बजेर ५० मिनेटमा भद्रपुर-५ स्थित बसपार्क नजिकै गोली चलाएर भारतीय कारोबारी भारतको विहार किशनगञ्ज जिल्ला कुर्लिकोट निवासी ३६ वर्षीय मोहम्मद इस्लामलाई पक्राउ परेको प्रहरी कार्यालय झापाका एसपी राजन लिम्बूले जानकारी दिए । प्रहरीले घटनास्थलमा दुई राउन्ड गोली चलाएको छ । एक राउन्ड हवाई फायर र अर्को गोली कारोबारी इस्लामको बायाँ खुट्टाको घुँडाभन्दा मुनि लागेको हो ।
'कारोबारी भाग्न खोज्दा प्रतिकारमा प्रहरीले गोली चलाएको हो,' एसपी लिम्बूले भने । प्रहरीले उनको साथबाट करिब प्लास्टिकसहित ११० ग्राम २ मिलिग्राम ब्राउनसुगर गरेको छ । घाइतेको अवस्था सामान्य रहेको र उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । प्रहरी स्रोतका अनुसार लागूऔषध कारोबारी इस्लामसँग ब्राउन सुगर खरिद गर्न पुगेका प्रहरी टोली एउटा होटेलमा बसेका थिए । होटेल बाहिर कारोबारी पुग्न साथ प्रहरीले समात्न खोज्दा प्रतिकारमा गोली चलेको बताइएको छ । यसअघि पनि भद्रपुरमा गोली चलाएर दुई कारोबारीलाई पक्राउ गरेको थियो ।