२०८३ असार २ गते , मंगलबार

लघुवित्त पीडितहरुले पाएनन् जीवन विकासको कार्यालयमा तालाबन्दी गर्न

sajilo news
झापा
२०८२ श्रावण ८ गते , विहीबार
लघुवित्त पीडितहरुले पाएनन् जीवन विकासको कार्यालयमा तालाबन्दी गर्न

ऋणीहरूलाई कालो सूचीमा राखेपछि आन्दोलित भएका लघुवित्त पीडितहरूले जीवन विकासको कार्यालयमा तालाबन्दी गर्न पाएनन् ।लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति झापाले मेचीनगर नगरपालिका –८, इटाभट्टास्थित जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालयमा तालाबन्दी गर्न खोजेको थियो ।

बिहीबार दिउँसो लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति झापाको आयोजनामा समितिकी झापा जिल्ला संयोजक सीता महराको नेतृत्वमा लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिकी कोशी प्रदेश संयोजक लुजा राई, लघुवित्त पीडितहरू लगायत करिब ४० जना महिला तालाबन्दी गर्न आएका थिए ।

आजदेखि झापा जिल्लाभित्र रहेका लघुवित्तको कार्यालयमा तालाबन्दी गर्ने पूर्वनिर्धारित कार्यक्रम अनुसार उनीहरू जीवन विकासको कार्यालयमा तालाबन्दी गर्न आएको बताइएको छ । प्रहरीले उनीहरूलाई रोकेको थियो । केहीबेरको घम्साघम्सीपछि लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिका नेतृत्वकर्ता, वित्तीय संस्थाका कर्मचारी र नेपाल प्रहरीको टोलीबीच कार्यालयभित्र वार्ता भएको थियो ।

 वार्तामा कालो सूचीमा राखिएका ऋणीलाई तत्काल कालो सूचीबाट हटाउन नसकिने वित्तीय संस्थाका प्रतिनिधिले बताएका थिए । उनले कालो सूचीबाट हटाउने माग आफ्नो तहबाट पूरा हुन नसक्ने बताएपछि संघर्ष समितिका प्रतिनिधिले अब उप्रान्त गाउँघरमा ऋण, ब्याज, किस्ता उठाउन आएमा वित्तीय संस्थाका कर्मचारीलाई संस्थाको कागजातसहित नियन्त्रणमा लिने, संस्थाको प्रमुखलाई बोलाउन लगाउने र कालोमोसो तथा जुत्ताको माला लगाइदिने चेतावनी दिएको बताइएको छ ।

उता सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीमाथि दुर्व्यवहार गर्ने महिलाहरू ११ दिन बितिसक्दा समेत अझै पक्राउ परेका छैनन् । घटना भएको भोलिपल्ट इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी पर्नासाथ पक्राउ गर्न प्रहरी टोली खटाइए पनि उनीहरू फेला नपरेका हुन् । असार अन्तिमदेखि प्रहरी टोली परिचालन गरिएपनि ती दुई महिला फेला नपरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रञ्जन बरालले बताए ।

सहारा नेपाल साकोसको मधुमल्ला सेवा केन्द्र प्रमुख रमेश राई र कर्मचारी सुशीला लामिछानेलाई मिक्लाजुङ गाउँपालिका वडा नं २ रचना टोल बस्ने दुर्गामाया लिम्बू र माया मगरले दुर्व्यवहार गरेका थिए । कागजपत्र तयार गरी घरमै कर्जा नवीकरण गर्न बोलाएका ती महिलाले सहारा नेपालका कर्मचारीलाई जुत्ताको माला लगाइदिएका थिए । साथै सेवा केन्द्र प्रमुखलाई हातपात गरी भिडियो बनाई सामाजिक सञ्जालमार्फत कर्मचारीको चरित्र हत्या गरेका थिए । सो घटनाको चौतर्फी विरोध भएको छ

सम्बन्धित समाचार