२०८३ असार २ गते , मंगलबार

पत्रकार पुरीलाई 'डि-कौडिन्य स्मृति पत्रकारिता पुरस्कार' प्रदान

sajilo news
झापा
२०८२ श्रावण ७ गते , बुधबार
पत्रकार पुरीलाई 'डि-कौडिन्य स्मृति पत्रकारिता पुरस्कार' प्रदान

प्रेस सेन्टर नेपाल झापा समन्वय समितिले जनपक्षीय पत्रकार देवकुमार आचार्यको स्मृतिमा स्थापना गरेको  यस बर्षको `डि-कौडिन्य स्मृति पत्रकारिता पुरस्कार´ पत्रकार उद्धव पुरीलाई प्रदान गरेको छ ।
प्रेस सेन्टर नेपालले बुधबार झापाको बिर्तामोडमा आयोजना गरेको `डि-कौडिन्य स्मृति पत्रकारिता पुरस्कार´ वितरण समारोहबीच दुई दशक यता क्रियाशील पत्रकार पुरीलाई पुरस्कार वितरण गरिएको हो । पुरी हाल शब्दपत्र अनलाइनका प्रकाशक-सम्पादक हुन् ।
कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज रञ्जित तामाङले नगद ४२ हजार र सम्मान पत्र प्रदान गरेर पुरस्कृत गरेका थिए ।
प्रेस सेन्टर नेपालका पूर्व अध्यक्ष तारामणि साप्कोटाले एक दशक अघि पाँच हजार राशिबाट सुरु गरेको पत्रकारिता पुरस्कारको राशि क्रमशः बढाएर गएको वर्षदेखि नगद ४२ हजार पुर्‍याएको हो ।
प्रेस सेन्टर नेपालले यसअघि अग्रज पत्रकारहरू चन्द्र भण्डारी, गन्जबहादुर दाहाल, लीला बराल, विमल लामिछाने, जिएन शर्मा, केशव भट्टराई, दिपिन राई, राजु पाठक, दीपक अधिकारी, लीलाराज झापाली, डिकेश लामा र झुलन रेग्मीलाई पुरस्कार वितरण गरिसकेको छ ।
त्यस्तै यसै वर्षदेखि सुरु गरेको `डी कौडिन्य पत्रकारिता स्मृति पुरस्कार अक्षयकोष´ मा  आर्थिक सहयोग पुर्‍याउने दाताहरूलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा प्रेस सेन्टरका प्रदेश सदस्य आइपि भट्टराई, माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरियालाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज रञ्जित तामाङ, माओवादी केन्द्र प्रदेश नम्बर -१ का उपाध्यक्ष विजय साम्पाङ, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव दिपिन राई, देवकुमार आचार्य (डी कौडिन्य) को धर्मपत्नी यमुना आचार्य, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराई, प्रेस चौतारी झापाका सचिव युवराज आचार्य, नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्य, जनवादी पत्रकार मञ्च झापा संयोजक  प्रवीण अधिकारी, मिडिया नेपालका झापा अध्यक्ष रञ्जित प्रसाईँलगायत शुभकामना मन्तव्य राखेका थिए । प्रेस सेन्टरका केन्द्रीय सदस्य एवम् नेपाल पत्रकार महासंघ झापाका सचिव राजु पाठकले डी कौडिन्यको जीवनीमाथि चर्चा गरेका थिए । प्रेस सेन्टर नेपालका अध्यक्ष पुष्प खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष होमप्रकाश अधिकारीले स्वागत गरेका थिए भने प्रकाश उप्रेती र राजन साम्पाङले सञ्चालन गरेका थिए ।

 

सम्बन्धित समाचार