हल्दिबारीमा ग्यास लिक भएर आगलागी हुँदा दुई घाइतेको अवस्था गम्भीर, हेलिकप्टरबाट काठमाडौँ पठाइयो
झापाको हल्दिबारीमा घरमा रोटी पकाउने क्रममा ग्यास लिक भएर आगलागी हुँदा घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर बनेको छ । आज बिहान ८ः४० बजे हल्दिबारी–४ स्थित ओली चोकका ६० वर्षीय पुण्यप्रसाद ओलीको घरमा रोटी पकाउने क्रममा ग्यासबाट अचानक आगो सल्किएको थियो ।
आगलागीमा परी घरधनी ओली, उनका छोरा बुहारी ३३ वर्षीय छोरा सन्तोष ओली, ३२ वर्षीया अनिता ओली र कान्छो छोरा २० वर्षीय आर्यन ओली घाइते भएका हुन् । उनीहरू शरीरको विभिन्न भागमा आगोले जलेर घाइते भएका हुन् । ती चार जनामध्ये घरधनी ओली र उनका कान्छा छोराको अवस्था गम्भीर बनेको हो ।
दुवै बाबु छोरालाई हेलिकप्टरबाट काठमाडौँको कीर्तिपुर अस्पताल लगिएको छ । ओलीको घरको दोस्रो तलाको भान्सा कोठामा रोटी पकाउने क्रममा ग्यास लिक भएर आगलागी भएको थियो । सोही आगो निभाउने क्रममा उनीहरू घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूलाई उद्धार गरेर ओमसाई पाथीभरा अस्पताल पठाइएको थियो । आगलागीबाट घरको भान्सा कोठा आंशिक रुपमा क्षति भएको छ । अस्थायी प्रहरी पोस्ट कञ्चनश्रीबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा बिहान ९ः१५ बजे आगो नियन्त्रणमा लिइएको थियो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।