झापाका तीन स्थानमा सवारी दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते
झापाका तीन स्थानमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । हिजो साँझ ६ः५० बजे कमल गाउँपालिका ६ मंगलबारेस्थित पाडाजुँगी– गौरादह सडक खण्डमा दही चोकबाट पाडाजुँगीतर्फ आउँदै गरेको मे.१ च ८२५ नम्बरको मारुती भ्यानलाई सोही दिशातर्फ जाँदै गरेको को.१८ प.३७७ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक कमल-५ बस्ने १६ वर्षीय सुजन खनाललाई केही नभएको तर सोही मोटरसाइकलमा पछाडि सवार उनका हजुरबुबा ७६ वर्षीय कृष्णप्रसाद खनाल गम्भीर घाइते भएका थिए । टाउको र निधारमा चोट लागेर सोही मारुती चालक कमल ४ बस्ने ५१ वर्षीय हेमराज राईले उपचारको लागि दमक अस्पताल एन्ड रिसर्च सेन्टर दमकमा ल्याई उपचारको क्रममा साँझ ७ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएर दुवै सवारी साधन र दुवै चालकलाई नियन्त्रणमा लिएको छ ।
त्यस्तै हिजो साँझ ७;३० बजे शिवसताक्षी नगरपालिका-६ हवल्दार चोकस्थित भित्री सडक खण्डमा मे १ ह ७११४ नम्बरको सिटी सफारी र बा ४८ प ६३९ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । घाइते हुनेहरूमा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका-७ चन्द्रडाँगी बस्ने वर्ष २७ को दीपेश राजवंशी, मोटरसाइकलमा पछाडि सवार सोही ठाउँ बस्ने वर्ष २४ का रमेश राजवंशी, सिटी सफारी चालक शिवसताक्षी नगरपालिका-६ बस्ने वर्ष ५० का चन्द्र महरा र सिटी सफारीमा सवार शिवसताक्षी-५ बस्ने वर्ष ६० का बमबहादुर दर्जी रहेका छन् । घाइतेहरूलाई स्थानीय मेडिकलमा प्राथमिक उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी बिर्तामोड अस्पताल ल्याइएको छ ।
त्यस्तै हिजो राति कमल–४ ज्योति चोकस्थित पूर्वपश्चिम लोकमार्गमा दमकबाट केर्खातर्फ आउँदै गरेको बा.प्र.०२–०५० प ३९७३ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक रौतहट चन्द्रपुर –४ बस्ने वर्ष २३ का रोशन खड्का घाइते भएका छन् । गम्भीर घाइतेलाई उपचारको लागि आम्दा अस्पताल दमक पठाएको प्रहरीले जनाएको छ ।